बागलुङमा घर र गोठ पुरिँदा १० जनाको मृत्यु
बागलुङ : अविरल वर्षापछि आएको पहिरोले बागलुङमा ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्लो दुई दिनमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
आइतबार मात्रै नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । यसअघि शनिबार ताराखोला गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।
आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको छ।
तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। घटनामा हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन्।
यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।
निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
पूर्वसूचनाका कारण सम्भावित थप मानवीय क्षति भने रोक्न सकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले प्रभावित तथा जोखिमयुक्त बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ।
.gif)

.png)


