बाढीपीडितका लागि जुट्यो ११ अर्ब ७७ करोड

एक अर्ब रुपैयाँ उद्धारमा निकासा


२०८३ भदौ २४ बुधबार ०७:३४ बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्म ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त रकम संकलन भएको हो। 

हाल ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २ सय २३ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४ सय ७१ रुपैयाँ बराबरको वैदेशिक मुद्रा जम्मा भएको कार्यालयले जनाएको छ।

उद्धार तथा तत्कालीन राहत कार्यलाई तीव्रता दिन सरकारले यसअघि नै कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा गरिसकेको छ। राहत अभियानमा सर्वसाधारणको सहभागिता पनि उल्लेख्य देखिएको छ। फोनपे क्यूआरमार्फत मात्रै ८ लाखभन्दा बढी पटक स्क्यान भएर करिब २ अर्ब १० करोड रुपैयाँ संकलन भएको छ। 

अन्तर्राष्ट्रिय कार्ड, कनेक्ट आईपीएस तथा रेमिट्यान्स च्यानलबाट थप १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रकम कोषमा आएको जनाइएको छ। निजी क्षेत्र, कर्पोरेट संस्था तथा वित्तीय संस्थाबाट पनि ठूलो सहयोग प्राप्त भएको छ। ४१ भन्दा बढी संस्थाबाट मात्रै २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी नगद तथा सहायता प्राप्त भएको कार्यालयले जनाएको छ। 

यसैगरी, अन्तर्राष्ट्रिय समुदायबाट पनि राहत तथा पुनर्निर्माणका लागि सहयोगको प्रतिबद्धता आएको छ। एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर तथा अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर सहयोग घोषणा गरेका छन्। सरकारले राहत रकमको दुरुपयोग रोक्न तथा पारदर्शी व्यवस्थापनका लागि ‘एकद्वार नीति’ लागू गरेको जनाएको छ। सरकारले कुनै दल, समूह वा व्यक्तिको खातामा रकम जम्मा नगरी आधिकारिक पोर्टल, प्रमाणित बैंक खाता तथा क्यूआर कोडमार्फत मात्रै सहयोग गर्न दाता र सर्वसाधारणलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७