प्रिय जेनजी, सुशासन कायम हुने नै छ: प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ अर्थात् सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । सरकारले यही दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभर सार्वजनिक बिदासमेत दिएको छ ।
आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ । शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’ गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यस घटनाको विरोधमा भोलिपल्ट २४ भदौमा देशभर प्रदर्शन भएको थियो ।
दुई दिनसम्म चलेको आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोडसमेत भएको थियो ।
जेनजी आन्दोलनपछि सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा राज्य संयन्त्रमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो । आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेको हो ।
.gif)

.png)

