तीन दिनमा भित्रियो ८७ हजार ८७७ सिलिन्डर

सडक अवरुद्ध भए पनि रोकिएन ग्यास आपूर्ति


२०८३ भदौ २१ आइतबार १४:३६ बजे
फाइल फोटो

काठमाडौं : धादिङको कृष्णभिरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति रोकिएको छैन । पछिल्लो तीन दिनमा वैकल्पिक मार्ग हुँदै ८७ हजार ८ सय ७७ सिलिन्डर एलपी ग्यास उपत्यका भित्रिएको छ । नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म उक्त परिमाणमा ग्यास काठमाडौं ल्याइएको हो ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, १९ गते ३४ हजार १ सय ३४ र २० गते २९ हजार २ सय ४९ सिलिन्डर उपत्यका भित्रिएको छ । कृष्णभिरमा पहिरो गएपछि सडकमार्गबाट ग्यास आपूर्तिमा समस्या आउन सक्ने देखिएपछि निगमले तराईका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक सडकमार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।

काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा रिफिल गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ । ती उद्योगबाट रिफिल गरिएका सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ ।

निगमका अनुसार यसरी उपत्यका भित्रिने ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन् । १६ वटा उद्योगका ग्यास वैकल्पिक मार्गबाट उपत्यका भित्रिरहेको निगमले जनाएको छ । पृथ्वी राजमार्गको कृष्णभिर खण्ड नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट ग्यास आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७