कोशीसहित ६ प्रदेशमा वर्षा: केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आइतबार देशभरको मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
आइतबार राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
राति मधेस तथा कोशी प्रदेशका तराई भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
.gif)

.png)

