हिमालदेखि तराईसम्म वर्षा र चट्याङको जोखिम
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको समेत जोखिम रहेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ। शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ भने केही स्थानमा भारी वर्षा रेकर्ड भएको छ। यस अवधिमा डोटीको झिग्रानामा ७५.२ मिलिमिटर, डडेलधुराको चौरबन्डालेमा ६६.२, मुगुको मांग्रीमा ६५.२, दैलेखको ग्वाटीमा ६२.६ र दोलखाको काब्रेमा ५९.६ मिलिमिटर वर्षा मापन भएको छ।
शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भाग तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
शुक्रबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेशको एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
.gif)

.png)

