मृत्यु जितेर फर्किएकाहरूको कथा
बाढी आएको ११ दिनसम्म अँध्यारो सुरुङ र भग्नावशेषमा जीवनसँग लडिरहे यी चार जना
काठमाडौं : भदौ १० गते भोटेकोसी उर्लियो। नदीको भेलसँगै धेरैका घर बगे, पुल बगे, सडक बगे। जलविद्युत् आयोजनाका सुरुङ र संरचना पानी, हिलो र ढुंगाले भरिए। कतिपय मानिस त्यही भेलमा हराए। कतिपय कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन।
बाढी आएको दिनदेखि एउटा प्रश्न धेरै परिवारको मनमा थियो, ‘उहाँहरू जीवित हुनुहुन्छ कि हुनुहुन्न?’ दिन बित्दै गए। खोजी चलिरह्यो। तर हराएकाहरूको खबर आएन। परिवारले आशा र निराशाबीच दिन काटिरहे।
त्यही बीचमा १० औँ र ११औँ दिन आएका चारवटा खबरले भने विपत्तिको बीचमा पनि जीवनको आशा बाँकी रहेको देखाइदिए। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जन, अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र नुवाकोटको बेत्रावतीस्थित घरको भग्नावशेषबाट चण्डिका श्रेष्ठ जीवितै भेटिए।
उनीहरूलाई परिवारले लगभग गुमाइसकेको थियो। कतिपयका लागि त मृत्यु स्वीकारिसकिएको थियो। तर उनीहरू फर्किए।
सञ्जय : अरूलाई बाहिर पठाएर आफू सुरुङभित्र

सञ्जय साह भदौ १० गते त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ड्युटीमा थिए। बाढी एकाएक आयोजनाभित्र पस्यो। त्यो बेला सबैलाई आफ्नो ज्यान जोगाउने हतार थियो। सञ्जयले पनि बाहिर निस्कने प्रयास गरे। तर अरूलाई सुरक्षित स्थानमा पठाउन लाग्दा उनी आफैँ सुरुङभित्र थुनिए।
त्यसपछि उनको संसार अँध्यारो भयो। बाहिर के भइरहेको छ, कति मानिस बाँचे, कति बगे—उनलाई केही थाहा थिएन। उनको संसार त्यही सुरुङ, पानी, ढुंगा र अँध्यारोमा सीमित भयो।
परिवारसँग भएको अन्तिम कुराकानीपछि उनको फोन पनि सम्पर्कविहीन भयो। दिन बिते। परिवारले पर्खिरह्यो। १० दिनपछि भने खबर आयो—सञ्जय जीवित छन्।
उद्धार भएपछि उनले सुरुङभित्र बिताएका दिन सम्झिए। बाहिरबाट उद्धार टोली आउँछ भन्ने आशामा बसेका थिए। समय काट्न महामन्त्र जप्ने गरेको उनले बताएका थिए।
परिवारका लागि त्यो खबर सामान्य खबर थिएन। १० दिनदेखि मनमा बोकेको मृत्युको डर एकैछिनमा खुसीमा बदलिएको क्षण थियो। सञ्जयका लागि भने त्यो १० दिन जीवनको सबैभन्दा लामो समय थियो।
कविर : एउटा फोनको प्रतीक्षा

कविर महर्जन त्रिशूली–३ ‘ए’मा नियमित कामका लागि पुगेका थिए। उनी कुलेखानी जलविद्युत् आयोजनाबाट मर्मतसम्भारका लागि त्यहाँ गएका थिए।
बाढी आयो। सुरुङभित्र पानी पस्यो। त्यसपछि कविर बाहिर आउन सकेनन्। घरमा श्रीमती हिराशोभा थिइन्। बाढी आएको दिन भएको कुराकानीपछि कविरको फोन बन्द भयो। त्यसपछि न फोन आयो, न कुनै खबर।
एक दिन बित्यो। दुई दिन बित्यो। त्यसपछि दिनहरू गन्न पनि गाह्रो भयो। परिवारका लागि हरेक फोनको घण्टी आशा र डर दुवै बोकेर आउँथ्यो। कतै कविरको खबर पो आयो कि भन्ने आशा, अनि नराम्रो खबर सुन्नुपर्ला कि भन्ने डर।
दसौँ दिनमा त्यो प्रतीक्षा टुंगियो। कविर भेटिए—जीवितै। उद्धार टोलीले उनलाई सुरुङबाट बाहिर निकाल्यो। त्यसपछि अस्पताल पुर्याइयो।
१० दिनपछि श्रीमान्लाई जीवित देख्नु हिराशोभाका लागि कस्तो क्षण थियो होला, त्यो शब्दमा लेख्न कठिन छ। लामो समयदेखि मनमा बनिरहेको सबैभन्दा नराम्रो कल्पना एकैछिनमा गलत साबित भएको थियो।
कविर फर्किए। तर सुरुङभित्र बिताएका ती १० दिनको कथा उनको शरीरले अझै बोकेको थियो।
लु हाइताओ : २२५ मिटर अँध्यारो सुरुङबाट
.jpg)
भोटेकोसी बाढीले नेपालीलाई मात्र होइन, आयोजनामा काम गरिरहेका विदेशी नागरिकलाई समेत आफ्नो चपेटामा पार्यो। अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई बाढी आएको ११औँ दिन जीवितै उद्धार गरियो।
उनी करिब २२५ मिटर लामो सुरुङभित्र फसेका थिए।
बाहिर उद्धार टोली निरन्तर प्रयास गरिरहेको थियो। भित्र भने उनी उद्धारको प्रतीक्षामा थिए। सुरुङभित्रको अवस्था सामान्य थिएन। पानी, हिलो, ढुंगा र भत्किएका संरचनाबीच उद्धार आफैँमा जोखिमपूर्ण थियो। तर उद्धार टोली पछि हटेन।
अन्ततः सुरुङको अँध्यारो चिरेर उद्धार टोली उनीसम्म पुग्यो। उनी बाहिर निस्कँदा त्यो केवल एक व्यक्तिको उद्धार थिएन। विपत्तिले दिएको निराशाबीच अर्को आशाको खबर थियो। त्रिशूली–३ ‘ए’बाट दुई नेपाली जीवित उद्धार भएको भोलिपल्टै चिनियाँ नागरिक पनि जीवित भेटिनुले सुरुङभित्र फसेका अन्य मानिसका परिवारलाई समेत केही आशा दिएको छ।
चण्डिका : छोराहरू किरियामा बसेका थिए

चारमध्ये चण्डिका श्रेष्ठको कथा सबैभन्दा पीडादायी छ।नुवाकोटको बेत्रावतीमा बाढी आउँदा चण्डिका घरमै थिइन्। बाढीले घरलाई क्षतिग्रस्त बनायो। त्यसपछि चण्डिकाको कुनै खबर आएन। परिवारले खोज्यो। आफन्तले खोजे। उद्धार टोलीले सम्भावित ठाउँहरू हे-यो।
तर आठ दिनसम्म पनि चण्डिकाको कुनै अत्तोपत्तो भएन। अन्ततः परिवारले उनी अब फर्केर नआउने निष्कर्ष निकाल्यो। छोराहरूले कुशको शव बनाएर मृत्यु संस्कार सुरु गरे। आमाको मृत्यु स्वीकारेर उनीहरू किरियामा बसे। आमाको सम्झनामा शोक गरिरहेका छोराहरूलाई सायद त्यसपछि आउने खबरको कल्पनासमेत थिएन।
तर ११औँ दिन बिहान एउटा खबर आयो. ‘चण्डिका जीवितै भेटिनुभयो।’ सुरुमा कसैले पत्याउन सकेन। जसको मृत्यु मानेर संस्कार सुरु गरिसकिएको थियो, उनी घरकै भग्नावशेषभित्र जीवित भेटिएकी थिइन्।
सशस्त्र प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले भग्नावशेष पन्छाउँदै गर्दा चण्डिकालाई फेला पारेको थियो। उद्धारपछि उनलाई उपचारका लागि लगियो। छोराहरूका लागि त्यो क्षण शब्दमा बयान गर्न नसकिने थियो। केही घण्टाअघिसम्म आमाको मृत्युमा शोक गरिरहेका उनीहरू अचानक आमालाई भेट्न दौडिनुपर्ने अवस्थामा पुगे।
काजकिरिया रोकियो। शोक खुसीमा बदलियो। मृत्यु स्वीकारिसकेको परिवारले आमालाई फेरि पायो। तर चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठको भने अझै अत्तोपत्तो छैन। त्यसैले चण्डिकाको उद्धारले खुसीसँगै अर्को प्रश्न पनि छाडेको छ—यदि ११ दिनसम्म भग्नावशेषभित्र एक महिला जीवित रहन सक्छिन् भने, अरू भग्नावशेषभित्र पनि कोही जीवनसँग लडिरहेका छैनन् भनेर कसरी भन्न सकिन्छ?
आशा अझै बाँकी छ सञ्जय, कविर, चिनियाँ नागरिक र चण्डिका—चार जनाको कथा एउटै छैन। कोही सुरुङभित्र थुनिए। कोही मर्मतको काममा पुगेका बेला बाढीमा परे। कोही घरसहित भग्नावशेषमा पुरिए। तर चारै जनाको कथामा एउटा कुरा समान छ—उनीहरूले अन्तिम क्षणसम्म जीवन छाडेनन्।
बाहिर उनीहरूलाई खोज्नेहरूका लागि दिनहरू कठिन थिए। भित्र उनीहरूका लागि हरेक घण्टा कठिन थियो। बाहिर परिवार मृत्यु र आशाबीच झुन्डिएका थिए। भित्र उनीहरू उद्धारको प्रतीक्षामा थिए। समय बित्दै जाँदा बाहिरकाले आशा गुमाउँदै गए होलान्। तर भित्रका ती चार जीवनले भने हार मानेनन्। त्यसैले अहिले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूका परिवारका लागि यी चार कथा सामान्य समाचार होइनन्।
यी कथाले एउटा सानो तर महत्वपूर्ण आशा दिएका छन्। समय धेरै बितिसक्यो भन्दैमा जीवनको सम्भावना सकिँदैन। चण्डिकाको परिवारले मृत्यु स्वीकारेर अन्तिम संस्कार सुरु गरिसकेको थियो। तर उनी जीवित भेटिइन्। सञ्जय र कविरका परिवारले १० दिनसम्म कुनै खबर पाएनन्। तर उनीहरू सुरुङबाट निस्किए। ११औँ दिन चिनियाँ नागरिक पनि सुरुङको अँध्यारोबाट बाहिर आए। त्यसैले अहिले पनि खोजी रोक्ने बेला होइन।
.gif)

.png)

