बाढीले सडक अवरुद्ध भएपछि रसुवामा हेलिकप्टरबाट औषधि ढुवानी


२०८३ भदौ १५ सोमबार १३:०० बजे

काठमाडौँ : बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि रसुवाका दुर्गम तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्न वैकल्पिक माध्यमबाट औषधि र स्वास्थ्य सामग्री पठाउन थालिएको छ। जनस्वास्थ्य कार्यालय, रसुवाले सडक मार्गबाट सहज पहुँच नपुगेका क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टर र सरकारी सवारीसाधन प्रयोग गरी औषधि तथा स्वास्थ्य सामग्री पठाइरहेको जनाएको छ।

स्याफ्रुबेँसी हुँदै जाने सडक अवरुद्ध भएपछि आमाछोदिङ्मो गाउँपालिकाका कतिपय क्षेत्रमा सडक मार्गबाट पहुँच पुग्न नसकेको कार्यालयले जनाएको छ। त्यसपछि स्थानीय स्वास्थ्य शाखाको मागका आधारमा हेलिकप्टरमार्फत आधारभूत औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ। उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसँगै आकस्मिक उपचारमा आवश्यक सामग्रीसमेत पठाइएको कार्यालयले जनाएको छ। यस्तै, उत्तरगया गाउँपालिकाअन्तर्गत भोटेकोशी नदीवारि रहेका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरमा आवश्यक औषधि सरकारी सवारीसाधनमार्फत पुर्‍याइएको छ। नदीपारिका स्वास्थ्य संस्थामा समेत सहज पहुँच नहुँदा ठूलोगाउँ र डाँडागाउँ स्वास्थ्य चौकीमा स्थानीय आवश्यकताअनुसार औषधि हेलिकप्टरमार्फत पठाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चेस्थित रसुवा होल्डिङ सेन्टरसहित उत्तरगया गाउँपालिकाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। ती केन्द्रमा रहेका प्रभावितको स्वास्थ्य अवस्था नियमित रूपमा निगरानी गर्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसँग समन्वय गरी चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटाइएको कार्यालयले जनाएको छ। 

विपद्का कारण फैलिन सक्ने सम्भावित रोगको निगरानी, रोकथाम तथा प्रतिकार्यका गतिविधिलाई निरन्तरता दिइरहेको जनस्वास्थ्य कार्यालय, रसुवाका प्रमुख निरध्वज घर्ती मगरले बताए। प्रभावित कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७