बाढीको सातौं दिनः सुरुङमा फसेकाहरूको उद्धार गर्ने जिम्मा जलविद्युत् कम्पनीलाई
काठमाडौं : सुरुङभित्र फसेका कर्मचारी तथा कामदारको जीवन बचाउने निर्णायक समय बित्दै जाँदा बाढी गएको सातौँ दिन बल्ल सरकारले आयोजना प्रवर्द्धकलाई उद्धारमा परिचालन हुन अनुमति दिएको छ। उद्धारमा भएको ढिलाइसँगै सुरुङभित्र सम्पर्कविहीन भएकाहरूको जीवन जोगिने सम्भावना झन् क्षीण बन्दै गएको छ।
यसअघि नेपाली सेनाको नेतृत्वमा एकद्वार प्रणालीबाट उद्धार भइरहेको भन्दै आयोजनाका प्राविधिक टोलीलाई प्रत्यक्ष रूपमा सुरुङमा परिचालन गरिएको थिएन। तर, सात दिनसम्मको प्रयासमा सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको उद्धार हुन नसकेपछि सरकारले आयोजना पक्षलाई आफ्नै प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित उद्धारमा खटिन बाटो खुला गरेको हो। सरकारको अनुमति पाएसँगै विभिन्न जलविद्युत् आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीले उद्धारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति जुटाउन थालेका छन्।
लाङटाङ जलविद्युत् आयोजनाले आफ्नै प्राविधिक टोली र आवश्यक उपकरणसहित आयोजनास्थल जाने तयारी थालेको प्रवर्द्धक विजयमान भट्टराईले बताए। उनका अनुसार नेपाली सेनाको टोली सुरुङभित्र करिब १०० मिटरसम्म प्रवेश गरेपछि थप खोजी तथा उद्धारका लागि आयोजनाकै प्राविधिक जनशक्ति आवश्यक रहेको जनाएको थियो। ‘पहिलाको तरिकाले भएन। त्यसैले अब नयाँ ढंगबाट अघि बढिरहेका छौँ,’ भट्टराईले भने। उनका अनुसार काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री जुटाउने काम भइरहेको छ। सामग्री व्यवस्थापनपछि प्राविधिक टोली आयोजनास्थलतर्फ जानेछ।
माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले पनि प्राविधिक जनशक्ति तथा उपकरण व्यवस्थापन थालेको छ। बाढीपछि आयोजनास्थलमा रहेका केही व्यक्ति सम्पर्कविहीन बनेलगत्तै कम्पनीले आफ्नै प्राविधिक टोली परिचालन गर्न खोजे पनि सरकारी एकद्वार प्रणालीका कारण प्रत्यक्ष रूपमा उद्धारमा सहभागी हुन पाएको थिएन।
गत भदौ १० गते आएको बाढीबाट रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ८९४ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको विवरण छ। जसअनुसार २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा मात्रै ५७३ जना सम्पर्कविहीन छन्। त्यस्तै १११ मेगावाटको रसुवागढीमा ९३, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४१ र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सुरुङभित्र पानी भरिएका कारण खोज तथा उद्धार थप जटिल बनेको छ। सोमबार माथिल्लो त्रिशूली–३ ‘ए’मा टनेल पोर्टल सफा गर्ने, पानी हटाउने र सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउने काम गरिएको थियो। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीले समेत सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। अब सरकारी उद्धार टोलीसँगै आयोजनाका आफ्नै प्राविधिक जनशक्ति र उपकरण परिचालन हुने भएपछि लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी तथा कामदारको खोजी थप तीव्र हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

