सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री


२०७८ जेठ २७ बिहीबार ०८:४५ बजे

काठमाडौं, २७ जेठ । काठमाडौं मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

वागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पीपीई, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वागमती सरकारले दिएको दुई करोडमा एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वागमती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ ।

सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए । दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७