चोरी गर्न पुगेका व्यक्ति नै तीन तलाबाट खसे

घटनास्थलमै मृत्यु


२०८३ भदौ १४ आइतबार ०८:१४ बजे

विराटनगर : विराटनगर महानगरपालिका–४ गणेश चोकमा चोरी गर्न घर प्रवेश गरेका एक व्यक्तिको भाग्ने क्रममा तीन तलामाथिबाट खसेर मृत्यु भएको छ। 

मोरङ प्रहरीका अनुसार पुरुषोत्तम न्यौपानेको घरमा आइतबार बिहान करिब १२:२० बजे चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५–४० वर्षीय पुरुष तीन तलामाथिबाट खसेका हुन्। भुईँमा खसेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको माथिल्लो तलामा पुगेका थिए। 

घरधनीले अपरिचित व्यक्तिलाई देखेपछि होहल्ला गरेका थिए। आवाज सुनेर आसपासका मानिससमेत जम्मा हुन थालेपछि पक्राउ पर्ने डरले उनी भाग्न खोजेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। भाग्ने क्रममा उनले घरको तीन तलामाथिबाट हाम फालेका थिए। घटनाबारे जानकारी पाएपछि मोरङ प्रहरीका डिएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिहान करिब २ बजे कोशी अस्पताल पठाएको छ। मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात वा अन्य विवरण फेला नपरेको प्रहरीले जनाएको छ।

हालसम्म उनको नाम र ठेगाना खुल्न नसकेको डिएसपी श्रेष्ठले बताए। प्रहरीले मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७