१४ हेलिकोप्टर परिचालन, उद्धार अभियान तीव्र
काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार तथा राहत वितरणका लागि सरकारले दैनिक १४ वटा हेलिकोप्टर परिचालन गरिरहेको छ। नेपाली सेनाका अनुसार रसुवा, नुवाकोट, धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका सात–सात वटा हेलिकोप्टर नियमित रूपमा परिचालन हुँदै आएका छन्।
स्थलमार्ग अवरुद्ध भएका कारण प्रभावित क्षेत्रमा उद्धारको प्रमुख माध्यम हवाई उडान बनेको छ। नेपाली सेनाका सूचना अधिकारी राजाराम अधिकारीका अनुसार फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, घाइतेलाई अस्पताल पुर्याउन तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन हेलिकोप्टर प्रयोग भइरहेको छ।
उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेक र रसुवाको धुन्चेलाई मुख्य आधार बनाइएको छ। एमआई–१७, अगस्टा र इक्युरेइलसहित नेपाली सेना तथा निजी क्षेत्रका विभिन्न हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। रेस्क्यु कोअर्डिनेसन सेन्टरका अनुसार काठमाडौँबाट त्रिशूली, धुन्चे, टिमुरे, चिलिमे, स्याफ्रुबेँसी, तातोपानी र बेत्रावतीलगायत प्रभावित क्षेत्रमा नियमित उद्धार उडान भइरहेको छ।
शनिबार मात्रै काठमाडौँबाट प्रभावित क्षेत्रमा ३२ वटा हेलिकोप्टर उडान भएका थिए। त्यसमध्ये १३ वटा निजी चार्टर र आठ वटा नेपाली सेनाले उडान गरेको जनाइएको छ। नुवाकोटबाट पनि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ हेलिकोप्टरलाई बेस बनाएर उद्धार तथा राहत उडान सञ्चालन भइरहेको छ। नुवाकोटबाट शुक्रबार ४१० उडान–अवतरण र शनिबार २७४ उडान–अवतरण भएका थिए।
ती उडानमार्फत शुक्रबार ८९८ नेपाली र ५६ विदेशी तथा शनिबार ४१८ नेपाली र ५० विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार अभियानमा अल्टिच्युड एयर, एयर डाइनेस्टी, श्री एयरलाइन्स, सिम्रिक, फिस्टेल, हेली एभरेस्ट, प्रभु, अन्नपूर्ण हेलिकोप्टर्स, माउन्टेन हेलिकोप्टर्स र बेसक्याम्प हेलिकोप्टर्सलगायत निजी कम्पनीका हेलिकोप्टर पनि परिचालन भएका छन्।
.gif)

.png)

