माथिल्लो त्रिशूली–३ ‘ए’ मा रातभर उद्धार अभियान जारी
काठमाडौं : प्रतिकूल मौसम र रातको अँध्यारोकाबीच माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा बाढीका कारण फसेका मानिसको खोजी तथा उद्धार कार्य रातभर जारी राखिएको छ। अविरल वर्षासँगै सिर्जिएको कठिन परिस्थितिमा नेपाली सेनासहितको उद्धार टोली घटनास्थलमा खटिएर फसेका तथा सम्भावित रूपमा पुरिएका मानिसको खोजीमा जुटेको छ।
रातको समयमा उद्धार कार्यमा थप जोखिम उत्पन्न भएपछि घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरी खोजी तथा उद्धारलाई निरन्तरता दिइएको छ। बाढी तथा पहिरोका कारण आयोजनास्थलमा थुप्रिएको माटो र पहिरो हटाउन जेसीबी तथा भारी एक्स्क्याभेटर प्रयोग भइरहेका छन्। अवरुद्ध बाटो खुलाउँदै पुरिएका हुनसक्ने स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।
उद्धार टोलीले सम्भावित स्थानमा मानिसको अवस्था पत्ता लगाउन सर्च क्यामेरा तथा विशेष मोनिटर प्रयोग गरिरहेको छ। प्राविधिक टोलीसमेत आपत्कालीन उपकरण र प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा खटिएको छ। कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र रातको अँध्यारोका बाबजुद उद्धार टोलीले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै खोजी अभियानलाई निरन्तरता दिइरहेको छ।
.gif)

.png)

