बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका २६१ विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा हराएका पर्यटकमध्ये शनिबार साँझसम्म विभिन्न १६ देशका २६१ जनाको उद्धार गरिएको हो।
बाढीका कारण गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकहरू प्रभावित भएका थिए। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न ट्रेकिङ तथा ट्राभल कम्पनीमार्फत यात्रामा गएका पर्यटकहरूको उद्धार गरिएको जानकारी दिएका छन्।
उद्धार गरिएकामध्ये भारतका १६७, चीनका ४०, युक्रेनका ८, जर्मनी र माल्टाका ४–४, इटाली र अमेरिकाका ३–३ जना छन्। यस्तै रसियाका २, स्पेनका २, स्वीजरल्यान्डका २ र टर्कीका २ जना पनि उद्धार भएका छन्।
बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक–एक जना पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ। आफ्नो देश तथा परिचय पूर्ण रूपमा खुल्न नसकेका थप २१ जना पर्यटक पनि उद्धार गरिएको विवरणमा उल्लेख छ।
तर बाढीमा परेर अझै ३२० जना विदेशी पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन तथा खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरू परिचालन भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरीलगायत निकायले प्रभावित तथा दुर्गम क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारलाई तीव्रता दिएका छन्। घाइते तथा विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।
बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै प्रभावित क्षेत्रमा रहेका तथा आपतमा परेका व्यक्तिलाई टोल फ्री १२३४, हटलाइन ११४४ वा पर्यटक प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
.gif)

.png)

