रसुवा बाढीमा बेपत्ता पत्रकार थामीको शनिबार अन्त्येष्टि गरिने
काठमाडौं : रसुवा बाढीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। परिवारको सल्लाह र निर्णयअनुसार थामीको अन्त्येष्टि गर्न लागिएको नेपाल थामी समाजले जनाएको छ। बाढीका क्रममा बेपत्ता भएको लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा गएका थिए। उनी एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी परिवारलाई गराएका थिए। उनी चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको थिएन।
बाढी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेका थामीले सोही साँझ परिवारसँग सम्पर्क गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको उनकी श्रीमती कालिका खड्काले बताएकी छन्। खोजी तथा उद्धारका लागि विभिन्न निकायबाट पहल भए पनि थामीको अवस्था पत्ता लाग्न सकेन। बाढी आएको दिन बिहान ८ः२१ बजेसम्म उनको मोबाइलको लोकेसन देखिएको र त्यसपछि फोन अफ भएको बताइएको छ।
अपराध तथा अनुसन्धानमूलक पत्रकारितामा सक्रिय थामी एक दशकभन्दा बढी समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए। उनी नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुन्। दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन्।

.gif)

.png)

