बाढी प्रभावितको उद्धार र राहतमा सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी उद्धार, राहत तथा तटीय क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए।
छलफलमा बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रमा रहेका बस्तीको अवस्था तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे जानकारी लिइएको थियो। छलफलका क्रममा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्याएको क्षति र प्रभावित नागरिकको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै तत्काल उद्धार तथा राहतका लागि आवश्यक व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी गराए। त्यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका थिए। बैठकमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत वितरणको प्रगतिबारे उच्चस्तरीय जानकारी लिइएको थियो।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। जोखिममा रहेका नागरिकको उद्धारसँगै प्रभावित क्षेत्रमा राहत र आवश्यक सहयोग पुर्याउने कामलाई समेत अघि बढाइएको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रतर्फ समेत बढिरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बस्तीमा सतर्कता अपनाउन र जोखिम देखिएका स्थानबाट नागरिकलाई सुरक्षित क्षेत्रमा सार्ने कार्यलाई प्राथमिकता दिइएको सरकारको भनाइ छ।
.gif)

.png)

