विदुरमा प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति तथा जारी खोज तथा उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन्।
प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे जानकारी लिएका छन्।
ब्रिफिङमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपीन रेग्मीले बाढीबाट भएको क्षति, उद्धारको अवस्था तथा प्रभावित क्षेत्रमा भइरहेको सुरक्षा तथा राहत व्यवस्थापनबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए। ब्रिफिङपछि प्रधानमन्त्री शाहले बाढीमा परी घाइते भएका नागरिकलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन्।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार प्रधानमन्त्री शाह बैठक सकेर अहिले घाइतेलाई भेटिरहेका छन्। प्रधानमन्त्री शाह बिहीबार बिहान सडकमार्ग हुँदै बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा खोज तथा उद्धार कार्यको अनुगमनका लागि नुवाकोटतर्फ गएका थिए।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि नुवाकोट पुगेका छन्।
.gif)

.png)

