कन्ट्री म्युजिककी महारानी डली पार्टनको ८० वर्षको उमेरमा निधन


२०८३ भदौ १० बुधबार ०८:१० बजे

काठमाडौं : अमेरिकी कन्ट्री म्युजिककी महारानी चर्चित गायिका, गीतकार तथा परोपकारी डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नेपाली समयअनुसार बुधबार बिहान न्यासभिलमा निधन भएको हो। क्यान्सरसँग छोटो समय लडिरहेकी पार्टनको भेंडरबिल्ट–इन्ग्राम क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको समाचारमा उल्लेख छ।

सन् १९४६ जनवरी १९ मा अमेरिकाको टेनेसीमा जन्मिएकी पार्टन १२ दाजुभाइ–दिदीबहिनीमध्ये चौथो सन्तान थिइन्। आर्थिक रूपमा कमजोर परिवारमा हुर्किएकी उनले सानै उमेरदेखि संगीतप्रति रुचि देखाएकी थिइन्। ७ वर्षको उमेरदेखि नै गीत बजाउन र लेख्न थालेकी उनी विद्यालय तहको पढाइ सकेपछि संगीतमा करिअर बनाउन न्यासभिल पुगेकी थिइन्।

सन् १९६५ मा पहिलो रेकर्डिङ सम्झौता गरेकी पार्टनले १९६७ मा ‘द पोर्टर वागोनेर शो’मार्फत व्यापक लोकप्रियता हासिल गरिन्। त्यसपछि एकल सांगीतिक यात्रा सुरु गरेकी उनले आफ्नो लामो करिअरमा ३ हजारभन्दा बढी गीत लेखिन्, ४९ एल्बम सार्वजनिक गरिन् र ११ ग्रामी अवार्ड जितिन्। उनका ‘Coat of Many Colors’, ‘Jolene’, ‘I Will Always Love You’ र ‘9 to 5’ जस्ता गीत विश्वभर चर्चित छन्। विशेषगरी ‘I Will Always Love You’ ले उनलाई पुस्तौँसम्म सम्झिइने कलाकारका रूपमा स्थापित गर्‍यो।

पार्टन संगीतमा मात्र सीमित रहिनन्। करिअरको सुरुवाती चरणमै काकासँग मिलेर पब्लिसिङ कम्पनी स्थापना गरी आफ्ना गीतका अधिकार सुरक्षित गरेकी उनी सफल व्यवसायीसमेत बनिन्। सन् १९८० मा ‘9 to 5’ चलचित्रमार्फत हलिउडमा प्रवेश गरेकी उनले अभिनयमा समेत आफ्नो प्रभाव छाडिन्। उनका एल्बम विश्वभर १० करोडभन्दा बढी प्रति बिक्री भएको बताइन्छ भने उनका गीतहरू अनलाइन प्लेटफर्ममा १ अर्बभन्दा बढी पटक स्ट्रिम भएका छन्।

संगीत र मनोरञ्जनबाट प्राप्त सफलता उनले सामाजिक सेवामा समेत प्रयोग गरिन्। बालबालिकामा पढ्ने संस्कार विकास गर्ने उद्देश्यले सञ्चालन गरेको उनको पुस्तकालय कार्यक्रममार्फत विश्वभर ३० करोडभन्दा बढी पुस्तक वितरण गरिएको बताइएको छ। उनको निधनसँगै अमेरिकी संगीत तथा मनोरञ्जन क्षेत्रले एक प्रभावशाली कलाकार गुमाएको छ। पार्टनको निधनमा कलाकार, संगीतकर्मी तथा विश्वभरका उनका लाखौँ प्रशंसकले शोक व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७