बागमतीमा मुख्यमन्त्री थापालाई संकट टर्यो, असन्तुष्ट नेकपा सांसदले दिने भए विश्वासको मत
प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन असन्तुष्ट सांसद तयार
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने भएका छन्। मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भएका हुन्।
यसअघि असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता सहकार्य गर्ने निर्णय तथा नेकपा र नेकपा एमालेबीच भएको पाँचबुँदे निर्देशनअनुसार मन्त्रालय बाँडफाँट नभएको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए। असन्तुष्ट सांसद गंगानारायण श्रेष्ठका अनुसार सत्ता सहकार्यबारे अन्तिम निर्णय केन्द्रीय संयोजन समितिको बैठकबाट गर्ने सहमति भएपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निष्कर्षमा पुगिएको हो।
प्रचण्डसँगको भेटमा राप्रपासँग सत्ता सहकार्य गर्ने निर्णयको राजनीतिक तथा वैचारिक पक्षबारे छलफल भएको श्रेष्ठले बताए। उनका अनुसार केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय सही भएको निष्कर्ष निकाले त्यसलाई स्वीकार गर्ने र गलत ठहरिएमा भविष्यमा विश्वासको मत फिर्ता लिन सकिने विषयमा समेत छलफल भएको छ। ‘अहिले विश्वासको मत दिनुस्, बाँकी विषय बैठकमा छलफल गरौँला’ भन्ने प्रचण्डको प्रस्तावपछि आफूहरू विश्वासको मत दिन तयार भएको श्रेष्ठले बताए।
केन्द्रले गरेको निर्णयप्रति श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले असन्तुष्टि जनाएका थिए। यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक नेकपा एकीकृत समाजवादीतर्फका सांसद हुन् भने अन्य सांसद माओवादी केन्द्रतर्फका हुन्।
असन्तुष्ट पक्षले विश्वासको मत दिने भएपछि बागमती प्रदेशमा मुख्यमन्त्री थापामगरलाई तत्कालका लागि विश्वासको मत प्राप्त गर्ने बाटो सहज भएको छ। यद्यपि राप्रपासँगको सत्ता सहकार्य र मन्त्रालय बाँडफाँटको विषय भने नेकपाको केन्द्रीय संयोजन समितिको बैठकबाट टुंगो लाग्ने भएको छ।
.gif)

.png)

