टीकापछि उपत्यकाका सडकमा बढ्यो सवारी चाप


२०८३ कार्तिक ५ बुधबार १८:४५ बजे

काठमाडौं : मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ ।

बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको चाप बढेको हो । सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या बढेसँगै सडकमा भीडभाडसमेत देखिन थालेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडक तथा उपत्यका भित्रिने प्रमुख नाकामा सवारी साधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् ।

टीकाका दिन आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या बढ्दा अघिल्ला दुई–तीन दिनको तुलनामा सडकमा सवारी साधन बाक्लिएको उनले बताए ।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको छ । सम्भावित भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनुका साथै ट्राफिक नियम पालना गराउन नियमित जाँचसमेत भइरहेको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण आफ्नो पेसा तथा व्यवसायका सिलसिलामा काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ ।

यात्रुको सुरक्षाका लागि नेपाल प्रहरीसँगको समन्वयमा सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे–नगरेको जाँचलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ ।दसैँ मनाएर काठमाडौं फर्कने यात्रुको चाप आगामी दिनमा थप बढ्न सक्ने भएकाले प्रमुख नाका तथा सडकमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७