कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : आज बुधबार देशभर बदलीसँगै विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा बागमती र गण्डकीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
यसैबीच राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार मध्याह्नपछि उपत्यकामा वर्षाको सम्भावना बढी देखिएको छ। उनका अनुसार उपत्यकाका सबै स्थानमा समान रूपमा वर्षा नहुने र कतै हल्का तथा कतै मध्यमसम्म वर्षा हुनसक्नेछ। त्यसअघि भने मौसम घाम–बादल हुने र केही समय खुलेपछि पुनः बदली हुने सम्भावना रहेको उनले बताएका छन्।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरभन्दा कम भए मध्यम र ५० देखि १०० मिलिमिटरभन्दा कम भए भारी वर्षा भनिन्छ।
.gif)

.png)

