अन्नपूर्ण पदमार्गमा पर्यटक फर्किन थाले
लमजुङ : बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएर बाटो सहज बनाएपछि मनाङ हुँदै मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढ्न थालेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक यस क्षेत्रमा आउन थालेका छन्।
समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने बाटो सहज बनेपछि पर्यटकलाई यात्रा गर्न सजिलो भएको उनले बताइन्।
पर्यटकीय सिजन सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढिरहेको थियो। तर, असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध भएपछि आगमन ह्वात्तै घटेको थियो।
त्यसबेला दैनिक एक–दुई जना पर्यटक मात्रै आउने गरेकोमा अहिले पुनः चहलपहल बढ्न थालेको गुरुङले बताए।
उनका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ। तीमध्ये ८८७ पुरुष र ५६० महिला छन्।
उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन्।
गत वर्ष मुख्य पर्यटकीय सिजनमा दैनिक ४०० देखि ५०० पर्यटक आउने गरे पनि यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताए। सडक र पदमार्ग थप सहज हुँदै गएमा पर्यटकको सङ्ख्या बढ्ने उनको अपेक्षा छ।
पर्यटक आगमन घट्दा अन्नपूर्ण पदमार्गका होटल तथा पर्यटन व्यवसायीको आम्दानीमा ठूलो असर परेको थियो। अहिले पर्यटक आउन थालेपछि व्यवसायीमा पुनः आशा पलाएको छ।
मर्स्याङ्दी गाउँपालिका–४, जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार बाढीपहिरोका कारण पर्यटक नआउँदा व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो। पछिल्ला दिनमा पर्यटक बढ्न थालेपछि दैनिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको उनले बताए।
“गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो। केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले बिस्तारै आउन थालेका छन्,” उनले भने।
उनका अनुसार जगतमा करिब २२ वटा होटल सञ्चालनमा छन्। सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा समेत असर पर्ने गरेको उनले बताए।
सडक र पदमार्ग सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उनको अपेक्षा छ।
मर्स्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि मुख्य पर्यटकीय सिजनमै बाढीपहिरोका कारण व्यवसाय सुनसान बनेको बताए।
पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उनको भनाइ छ। सडक तथा पदमार्ग सहज हुँदै गए पर्यटकको आगमन थप बढ्ने उनले अपेक्षा गरे।
लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुग्ने अन्नपूर्ण चक्रीय पदमार्ग हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र रहनसहनका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ।
यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्त्वपूर्ण बासस्थानका रूपमा रहेका छन्।
.gif)

.png)


