भोटेकोशी विपद् नेपाल–चीनको मात्र होइन, विश्वव्यापी समस्या हो: खनाल
‘बीआरआईअन्तर्गतका आयोजना छिटो अगाडि बढाउनुपर्छ’
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
‘फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिज्म’ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलालाई सम्बोधन गर्दै खनालले हिमाली क्षेत्रका जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताए।
‘भोटेकोशी विपद् नेपालका लागि राष्ट्रिय समस्या वा नेपाल र चीनबीचको क्षेत्रीय मुद्दा मात्र होइन, यो लामो समयदेखि औद्योगिक राष्ट्रबाट भएको कार्बन उत्सर्जनका कारण उत्पन्न भएको विश्वव्यापी समस्या हो’, खनालले भने।
नेपालको विश्वव्यापी तापक्रम वृद्धिमा योगदान नगण्य भए पनि जलवायु परिवर्तनका गम्भीर परिणाम भोगिरहेको उल्लेख गर्दै उनले मौसम तथा बाढीसम्बन्धी सूचनाको प्रभावकारी आदानप्रदान, समन्वित विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच आवश्यक रहेको बताए।
रेल, सडक, सञ्चार तथा अन्य सीमापार पूर्वाधार नेपालको विकास र आर्थिक एकीकरणका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै खनालले भौतिक तथा डिजिटल सम्पर्क विस्तारले नेपाल र चीनबीच व्यापार, पर्यटन, लगानी तथा जनस्तरीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताए।
‘नेपाल–चीन ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क र सीमापार रेलमार्ग सञ्जाललाई हामीले उच्च प्राथमिकतामा राख्नुपर्छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ढाँचालाई अघि बढाउनुपर्छ’, उनले भने, ‘कनेक्टिभिटी पूर्वाधार निर्माणमा प्राकृतिक विपद्को बढ्दो जोखिमलाई दृढतापूर्वक ध्यानमा राख्नुपर्छ।’
नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालले विपद्का समयमा प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराएकामा चीन सरकारप्रति आभार व्यक्त गरे। उनले चीनलाई समृद्धि र प्रतिकूलता दुवै अवस्थामा नेपालसँग उभिने भरपर्दो मित्रका रूपमा चित्रण गरे।
नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर जनाउँदै आएको समर्थनको पनि उनले प्रशंसा गरे। खनालले ‘एक चीन’ सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने बताए।
.gif)

.png)

