गगनलाई निर्विरोध बन्न राठौर र खड्गीको अवरोध
कांग्रेस सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापासहित तीन जनाको उम्मेदवारी परेको छ। थापालाई चुनौती दिँदै काठमाडौं क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी र पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार राष्ट्रिय सभागृहमा भएको मनोनयन दर्तामा खड्गीले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि थापाले उम्मेदवारी दर्ता गराएका थिए भने राठौरले अन्तिममा सभापतिका लागि मनोनयन दर्ता गरेका हुन्।
थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका थिए। त्यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए। यसपटक उनले सभापतिमा निरन्तरता पाउने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी दर्तापछि थापाले पार्टीका लागि आवश्यक योग्य नेताहरू पदाधिकारीमै प्रतिस्पर्धा गर्दा पराजित भएर केन्द्रीय समितिबाटै बाहिरिन सक्ने अवस्था नआओस् भन्नेमा आफू सचेत रहेको बताए। उनले सबैलाई मिलाएर लैजाने गरी आफूले संवाद गरिरहेको पनि बताएका छन्।
गगनका पूर्वशिक्षक खड्गी मैदानमा
खड्गीले भने थापालाई रोक्न वा व्यक्तिगत रूपमा चुनौती दिनभन्दा कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिन आफूले उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवारी दर्तापछि उनले कांग्रेसमा नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुँदै आएको उल्लेख गर्दै व्यक्ति विशेषलाई सर्वसम्मत बनाउनेभन्दा नेतृत्व चयनको विधि र प्रक्रिया लोकतान्त्रिक हुनुपर्ने धारणा राखे। खड्गीले थापा आफू शिक्षक हुँदा सिद्धार्थ वनस्थलीमा विद्यार्थी रहेको स्मरणसमेत गरे।
खड्गीले आफू कुनै प्यानलमा नरहेको दाबी गर्दै गुट र उपगुटका कारण निष्ठावान् कार्यकर्ता पाखा लाग्ने गरेको बताए। अलग गतिविधिमा रहेका पुराना नेता तथा शीर्ष नेतृत्वका सन्तानलाई समेत समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
राठौरको पनि विद्रोही उम्मेदवारी
राठौरले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेपछि कांग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ। उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। लामो समय पूर्वसभापति शेरबहादुर देउवानिकट रहेर राजनीति गरेका राठौर महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षमा आएका थिए।
उम्मेदवारी दर्तापछि राठौरले आफूले लामो समय साथ दिएका नेताहरूले सभापतिको उम्मेदवारका रूपमा साथ नदिएको गुनासो गरे। उनले कांग्रेसलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेहरूलाई पार्टी अनुशासनमा ल्याउने तथा आवश्यक परे कारबाही गर्ने बताएका छन्।
राठौरले कांग्रेसलाई एकताबद्ध बनाउने एजेन्डासहित सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए। उनले पार्टीभित्रै दुईवटा महाधिवेशनको अभ्यास हुनु विडम्बना भएको टिप्पणीसमेत गरेका छन्।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि थापा, खड्गी र राठौरबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आगामी असोज २२ गते हुने कार्यतालिका छ।
सभापतिबाहेक वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्।
.gif)

.png)


