कांग्रेस इतर समूहको बन्दसत्रमा तीन प्रतिवेदन पेश
महतले प्रस्तुत गरे ‘नेपाली कांग्रेसको आर्थिक-सामाजिक नीतिको कार्यदिशा’
काठमाडौं : नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेलाको बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदन पेश गर्न थालेका छन्। हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक–सामाजिक नीतिको कार्यदिशा र समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन्।
बन्दसत्रमा बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्। हिजोदेखि सुरु भएको कांग्रेस इतर समूहको राष्ट्रिय भेला भोलिसम्म सञ्चालन हुने बताइएको छ।
काठमाडौंमा जारी भेलामा निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा शेरबहादुर देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने घोषणा गरिएको छ। प्रतिवेदनमा ‘१५औँ महाधिवेशनको तयारी’ शीर्षकअन्तर्गत निधिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले १५औँ महाधिवेशनको आयोजना गर्नेछौँ भन्ने हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ।’ निधिले महाधिवेशनको तयारीका लागि देशभित्रका साथै विदेशस्थित जनसम्पर्क समितिका सबैलाई सक्रिय रूपमा तयार रहन आग्रह गरेका छन्।
महतले प्रस्तुत गरे ‘नेपाली कांग्रेसको आर्थिक-सामाजिक नीतिको कार्यदिशा’
महतले ‘नेपाली कांग्रेसको आर्थिक–सामाजिक नीतिको कार्यदिशा’ प्रस्ताव प्रस्तुत गरेका छन्। दश बुँदामा प्रस्तुत गरिएको प्रस्तावमा महतले बदलिँदो आर्थिक तथा राजनीतिक परिवेशअनुसार कांग्रेसले आगामी दिनमा अवलम्बन गर्नुपर्ने आर्थिक–सामाजिक नीतिको खाका प्रस्तुत गरेका छन्।
महतले कांग्रेस अहिले सत्तामा नरहेको अवस्थामा आत्मसमीक्षा गर्दै आर्थिक नीतिलाई समयसापेक्ष बनाउनु आवश्यक रहेको बताएका छन्। बदलिँदो भूराजनीतिक परिवेशबाट सिर्जित आर्थिक चुनौती, बढ्दो जनआकांक्षा र तीव्र गतिमा भइरहेको प्रविधिको विकासलाई ध्यानमा राख्दै प्रजातान्त्रिक समाजवादमा आधारित आर्थिक नीतिको समयसापेक्ष स्वरूपबारे गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ।
उनले प्रजातान्त्रिक समाजवादको मूल लक्ष्य अपरिवर्तनीय रहने तर लक्ष्य प्राप्त गर्ने आर्थिक–सामाजिक नीति भने परिस्थितिअनुसार परिवर्तनशील र गतिशील हुनुपर्ने प्रस्तावमा उल्लेख गरेका छन्। महतले आर्थिक समृद्धिको लाभ देशका सबै वर्ग, समूह र भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार वर्तमान अवस्थामा आर्थिक वृद्धिमा देखिएको गतिरोध र उत्पादनशील तथा गुणस्तरीय रोजगारीको अभावलाई सम्बोधन गर्नु कांग्रेसको प्राथमिकता हुनुपर्छ। आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने समयसापेक्ष नीति अवलम्बन गर्नुपर्ने उनको प्रस्ताव छ।
त्यसैगरी पछाडि परेका क्षेत्र, वर्ग तथा समूह र गरिबीको रेखामुनि रहेका नागरिकको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न लक्षित आर्थिक तथा सामाजिक नीति अवलम्बन गर्नुपर्ने महतले बताएका छन्।
.gif)

.png)

