गगन भाइलाई सभापति भन्नै मन लागेको छैन : कृष्ण सिटौला

‘अराजक र विधानविपरीत विशेष महाधिवेशन भयो’


२०८३ श्रावण २९ शुक्रबार १९:०२ बजे

काठमाडौं :  नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन अराजक र विधानविपरीत ढंगले गरिएको टिप्पणी गरेका छन्।

संस्थापनइतर पक्षले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनलाई निर्वाचन आयोगका दुई जना आयुक्तले सदर गरेको दाबी गरे। उनले सर्वोच्च अदालतबाट न्याय पाउने आशा रहेको बताए।

‘अहिले एउटा आशा पलाएको छ। सर्वोच्च अदालतले सुरुदेखि नै सुनुवाइ गर्नुपर्छ। निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्नेमा त्रुटि भएको थियो, यसमा पुनरवलोकन हुँदैछ,’ उनले भने, ‘सर्वोच्चले गर्ने निर्णयले कांग्रेसले न्याय पाउँछ।’

सिटौलाले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई ‘सभापति’ भन्नसमेत आफूलाई मन नलागेको बताए। उनले थापालाई युवा नेता भन्दै विशेष महाधिवेशनको प्रक्रियामा भएको त्रुटि सच्याउन आग्रह गरे।

‘हाम्रो युवा नेता हुन् गगन भाइ, अन्यथा नहोस्, सभापति भन्न मन लागेको छैन। अराजक ढंगले विधानविपरीत विशेष महाधिवेशन भयो,’ सिटौलाले भने, ‘मानिसको जीवनमा गल्ती हुन्छ। उहाँले आत्मसात् गरेर सच्याउनु राम्रो हुन्छ। त्यो बाटो अदालतले खोलिदिएको छ। अब के गर्नुपर्छ, उहाँलाई थाहा होला। आफैँ अग्रसर हुनुस्।’

सिटौलाले पार्टी एकताका लागि सबैले जोड दिए पनि एकताका आफ्नै सिद्धान्त र चरण हुने बताए। उनले निर्वाचन आयोगको निर्णयप्रति समेत प्रश्न उठाए।

‘सबै छाडेर पार्टी एकता सम्भव हुन्छ? निर्वाचन आयोगले कस्तो निर्णय गरिदियो। कसैको बहकाउ र लहडमा दुई जना आयुक्तले निर्णय लिए?’ उनले प्रश्न गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७