कांग्रेसभित्रको विवादमा गगनलाई पूर्णबहादुरको सन्देश : हामी मिलौँ, तर निर्णायक तपाईं हो–तपाईं

'तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ'


२०८३ श्रावण २४ आइतबार २२:२२ बजे

काठमाडौँ :  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा भइरहेको बहसप्रति चिन्ता व्यक्त गरेका छन्।

खड्काले कांग्रेस इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको तथा राष्ट्रियता र लोकतान्त्रिक संविधानसमेत संकटमा परेको दाबी गर्दै अहिलेको पहिलो आवश्यकता पार्टीको ‘सम्पूर्ण एकता’ भएको बताएका छन्।

पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले पार्टी सभापति गगन थापालाई तत्काल पार्टी एकताका लागि अग्रसर हुन विशेष आग्रह गरेका छन्। सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोप, टीका–टिप्पणी तथा गालीगलौजले पार्टीलाई थप कमजोर बनाउने भन्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न सबै तहका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सालाई पार्टीको सम्पूर्ण एकताका लागि ‘अन्तिम अवसर’का रूपमा लिनुपर्ने बताएका छन्। व्यक्तिगत महत्त्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक पहल गर्नुपर्ने उनको आग्रह छ।

गगन थापालाई सम्बोधन गर्दै खड्काले भनेका छन्, ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ। तर यहाँनिर स्पष्ट हुन जरुरी छ–निर्णायक तपाईं हो, तपाईं।’

उनले पार्टी तथा भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्तालाई एकताका लागि वातावरण निर्माण गर्न विशेष आग्रहसमेत गरेका छन्।‘राष्ट्र रहे–बहुदलीय लोकतन्त्र रहन्छ–पार्टी रहन्छ–अनि त्यसमा हामी रहने ठाउँ रहन्छ। नभए सबै खरानी हुन्छ–हामी सबैमा हेक्का रहोस्,’ खड्काले भनेका छन्।

उनले सामाजिक सञ्जालमा हुने ‘दोहोरी’ र गालीगलौजले कुनै निष्कर्षमा नपुर्‍याउने भन्दै यस्तो प्रवृत्ति सबै मिलेर बन्द गर्नसमेत अपिल गरेका छन्।

खड्काको स्टाटस : 

पार्टीका सबै अग्रज आदरणीय नेताहरू, पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहनुभएका सबै साथीहरू, भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहमा रहनुभएका साथीहरू, शुभेच्छुक तथा समर्थक आदरणीय दिदीबहिनी, दाजुभाइहरू सबैमा जयनेपाल ।

पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिका ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ ।

इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको अवस्था अनि काँग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजोर र प्रतिकूल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली काँग्रेसको सम्पूर्ण एकता हो ! यसका लागि हामीबीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो वर्तमान भीमकाय चुनौतीहरूको सामना गर्नका लागि !

यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महत्त्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध अनि कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढौँ ।

सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ !

पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ।

तर यहाँनिर स्पष्ट हुन जरुरी छ,

 'निर्णायक तपाईं हो – तपाईं !'

पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल ।

राष्ट्र रहे–बहुदलीय लोकतन्त्र रहन्छ–पार्टी रहन्छ–अनि त्यसमा हामी रहने ठाउँ रहन्छ, नभए

– सबै खरानी हुन्छ– हामी सबैमा हेक्का रहोस् ।

सामाजिक सञ्जालको दोहोरी र गालीगलौजले कहीँ पुगिँदैन। यो प्रवृत्ति सबै लागेर बन्द गरौँ।

 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७