ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार बढिरहेकाले अनावश्यक रूपमा सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहनुका साथै उद्योगहरूले सिलिण्डर रिफिलिङ गरी निरन्तर बजारमा पठाइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले आग्रह गरेको हो।
“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन,” सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशाला ९रिफाइनरी० बाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र पछिल्लो समय आयात करिब १५ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ।
निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ। यही आधारमा चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।
उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेताहरूलाई पनि आग्रह गरेको छ।
.gif)

.png)

