कोसोभोको संसद्मा विपक्षी सांसदले कार्यवाहक प्रधानमन्त्रीमाथि अण्डा प्रहार
प्रिस्टिना । कोसोभोको संसद्मा नयाँ संसद् गठन गर्ने विषयमा बैठक भइरहेका बेला विपक्षी दलकी एक महिला सांसदले कार्यवाहक प्रधानमन्त्री अल्बिन कुर्तीमाथि अण्डा प्रहार गरेपछि बैठकमा तनाव उत्पन्न भएको छ।
शनिबार राजधानी प्रिस्टिनामा भएको संसदीय बैठकका क्रममा कोसोभोको भविष्यका लागि गठबन्धनकी सांसद ताइमे काद्रियाजले कार्यवाहक प्रधानमन्त्री कुर्तीमाथि अण्डा प्रहार गरेकी हुन्।
कुर्तीले विपक्षी दलहरूसँग राजनीतिक वार्ता जारी राख्न थप समय माग गर्दै संसद्का सभामुखसमक्ष प्रस्ताव राखेका थिए। प्रस्ताव स्वीकृत भएपछि सांसद काद्रियाजले विरोध गर्दै ‘लज्जास्पद’ भनेकी थिइन्। त्यसपछि उनले कुर्तीमाथि अण्डा प्रहार गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो।
घटनापछि कुर्तीले राजनीतिक संवाद अघि बढाउन यस्तो व्यवहार सहनुपर्ने भए आफू त्यसका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए।
कुर्ती नेतृत्वको आत्मनिर्णय आन्दोलन पार्टीले गत जुन ७ मा भएको आकस्मिक आमनिर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेपछि नयाँ संसद् गठनका लागि उक्त बैठक बोलाएको थियो। तर विपक्षी दलहरू तथा केही संवैधानिक कानुन विज्ञहरूले बैठकको विरोध गरेका थिए।
उनीहरूको तर्कअनुसार संसद् गठनका लागि संवैधानिक अदालतले तोकेको ३० दिनको समयसीमा शुक्रबार नै समाप्त भइसकेकाले त्यसपछि बैठक बोलाउनु संविधानविपरीत हुन सक्नेछ।
यो घटना कुर्तीले नयाँ राष्ट्रपति चयनका लागि विपक्षी दलहरूको समर्थन जुटाउने प्रयास गरिरहेका बेला भएको हो। कोसोभोमा राष्ट्रपति चयन गर्न संसद्मा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले राजनीतिक वार्ता लामो समयदेखि अड्किएको छ।
कोसोभो पछिल्लो दुई वर्षभन्दा केही बढी अवधिमा तीन पटक निर्वाचन गर्नुपर्ने अवस्थामा पुगेको छ। जुन महिनामा भएको निर्वाचनमा कुर्तीको पार्टीले करिब ४३ प्रतिशत मत प्राप्त गरेको थियो। यसअघि उसले करिब ५१ प्रतिशत मत पाएको थियो। यद्यपि जातीय अल्पसंख्यक सांसदहरूको समर्थन जोड्दा उक्त पार्टीले संसद्मा बहुमत कायम राखेको छ।
कुर्ती नेतृत्वको पार्टीकै सांसदहरूले यसअघि पनि संसद्मा अवरोध गरेका थिए। सन् २०१५ र २०१८ मा सरकारको विरोधमा सांसदहरूले संसद् भवनभित्र धुवाँ बम तथा अश्रुग्यास प्रयोग गरेका घटनासमेत भएका थिए।
विपक्षी दलहरूले कुर्तीले मागेको समय थपसम्बन्धी प्रस्तावविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा पनि वार्ता अगाडि बढ्न नसक्दा कोसोभोको राजनीतिक संकट थप लम्बिने जोखिम देखिएको छ।
कोसोभोले सन् २००८ मा सर्बियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो। सन् १९९८ देखि १९९९ सम्म चलेको कोसोभो युद्धपछि उत्तर एटलान्टिक सन्धि संगठनको हवाई कारबाहीसँगै सर्बियाली सेना फिर्ता भएपछि युद्ध अन्त्य भएको थियो।
हाल कोसोभोको स्वतन्त्रतालाई विश्वका आधाभन्दा बढी देशले मान्यता दिएका छन्। संयुक्त राज्य अमेरिका र युरोपेली संघका अधिकांश सदस्य राष्ट्रले पनि कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएका छन्। तर सर्बियाले भने कोसोभोको स्वतन्त्रतालाई अस्वीकार गर्दै त्यसलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ।
.gif)

.png)

