गोरखामा एमालेका ‘चक्रे मिलन’ को जमानत जफत


२०८२ फाल्गुण २५ सोमबार २१:३० बजे

गोरखा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा नेकपा (एमाले)का उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जना उम्मेदवारको जमानत जफत भएको छ। गोरखामा दुई निर्वाचन क्षेत्र रहेकामा कुल २५ जनाले उम्मेदवारी दिएका थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो। गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो, जसमा ५४ हजार १४७ मत सदर थिए। जमानत जोगाउन कम्तीमा ५ हजार ४१५ मत आवश्यक थियो। तर एमालेका उम्मेदवार मिलन गुरुङले ३ हजार ८७ मत मात्रै पाएपछि उनको जमानत जफत भएको हो।

यसै क्षेत्रमा उज्यालो नेपाल पार्टीका बलराम तामाङ (६३९), राप्रपाका कुलबहादुर बस्नेत (२९२), मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ (२९०), नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर प्रधान (१३०), नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङ (१११), स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकाल (८०), आम जनता पार्टीकी कल्पना कुमाल (४१), नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकी (३०) र स्वतन्त्र उम्मेदवार हरि पोखरेल (१४) को पनि जमानत जफत भएको छ। गोरखा–२ मा कुल १३ जनाले उम्मेदवारी दिएका थिए।

त्यस्तै गोरखा–१ मा १२ जना उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ। यहाँ कुल ६३ हजार ६०९ मत खसेको थियो, जसमध्ये ६१ हजार ३९० मत सदर रहेका थिए। जमानत जोगाउन कम्तीमा ६ हजार १३९ मत आवश्यक थियो।

तर एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत मात्रै प्राप्त गरे। उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर (४८९), राप्रपाका केदारमणी खनाल (३१०), संयुक्त नागरिक पार्टीका जितबहादुर घले (१६५), मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापा (१४२), नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बिष्णुप्रसाद रिजाल (५७), नेशनल रिपब्लिक नेपालका आकाश राना मगर (३५), स्वतन्त्र उम्मेदवार कविता भट्टराई (२३) र नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठ (१९) ले पनि १० प्रतिशत मत नपुग्दा जमानत गुमाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७