चक्रे मिलनलाई भक्तपुरमा लिइयो ज्यान मार्ने उद्योग मुद्दामा बयान


२०८२ श्रावण २३ शुक्रबार १९:५० बजे

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका गुण्डा नाइके चक्रे मिलनलाई बयानका निम्ति शुक्रबार भक्तपुर लगिएको छ ।

२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा भक्तपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपाने भने, ‘आज भक्तपुर ल्याएर सरकारी वकिल कार्यालयमा बयान प्रमाणित गराएर काठमाडौँ नै बुझाइदिइसकेका छौं । अब अनुसन्धान सकिएन भने यता ल्याउँछौं । नभए काठमाडौँको सँगसँगै मुद्दा बुझाउँछौँ । काठमाडौँमा सकिएपछि थुनछेकका लागि यहाँ ल्याउँछौं ।’

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार थप ५ दिन म्याद थप गरेको एसपी कुलदीप चन्दले बताए । भक्तपुरको घटनामा बयानका क्रममा चक्रे मिलनले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

‘उक्त घटनामा मेरो संलग्नता छैन । म त्यो बेला त्यहाँ पनि छैन खै कसरी नाम आयो मलाई थाहा भएन’, उनले बयानमा भनेका छन् ।

गत साता जन्मदिन मनाउने क्रममा महाराजगन्जस्थित होटल साम्बालाको आठौं तलाबाट ४७ जनासहित उनी पक्राउ परेका थिए । त्यसमध्ये १९ जना विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएको छ । उनीहरू जिल्ला प्रहरी, भद्रकालीको हिरासतमा छन् ।

गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आफैले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए । भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो ।

सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो । उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो ।

यसैबीच सार्वजनिक हितविरुद्धको कसुरमा पक्राउ परेका चक्रे मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासमा राखेर प्रहरीले अनुसन्धान गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पक्राउ परेकामध्ये २८ जनालाई छाडेर प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीसहित १९ जनालाई अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले ७ दिन म्याद लिएर अनुसन्धा सुरु गरेको थियो । प्रहरीले बाटोमा भेला भएर केक काटेको र महाराजगन्ज क्षेत्रमा होहल्ला गरेर शान्ति सुरक्षामा असर पारेको मुख्य आरोप यो समूहलाई प्रहरीले लगाएको छ ।

चक्रेले ठूलो समूहमा सडक छेउमा केक काट्दै गरेको, जन्मदिनका अवसरमा पशुपति पुगेर पैसा बाँडेको लगायतका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

चक्रेलाई उनका समूहका सदस्यहरूले सडक नै अवरुद्ध हुने गरेर स्कर्टिङ गरेको भिडियो पनि आएको छ । त्यो भिडियोमा भक्तपुरको सडकमा तीनवटा गाडी लस्करै चलाएर अरू गाडीलाई अगाडि जान नदिइएको दृश्य देखिन्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७