मधेसको सुरक्षा कमान्डमा एआईजी ठाडामगर र श्रेष्ठ


२०८३ श्रावण १५ शुक्रबार २०:२६ बजे

काठमाडौं :  सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सरकारले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उच्च प्रहरी अधिकृतहरूलाई फिल्डमा परिचालन गरेको छ।

प्रदर्शन, सम्भावित झडप तथा सामाजिक सद्भावमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै मधेस प्रदेशका विभिन्न जिल्लामा प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू खटाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

प्रहरी र सशस्त्र प्रहरीको कार्य विभाग हेर्ने दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)लाई जनकपुर पठाइएको छ। सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ जनकपुर पुगिसकेका छन्।

मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्मका जिल्लामा सुरक्षा अवस्था मूल्यांकन, समन्वय र व्यवस्थापनका लागि उनीहरूले सम्बन्धित निकायसँग समन्वय गर्नेछन्।

यसैगरी, जिल्लागत सुरक्षा अवस्था हेर्न नेपाल प्रहरीले डीआईजी र एसएसपीसहितका उच्च अधिकारीहरूलाई विभिन्न स्थानमा जिम्मेवारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार:

  • डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा खटाइएको छ।
  • डीआईजी अबिनारायण काफ्लेलाई सप्तरी पठाइएको छ।
  • एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाहीको जिम्मेवारी दिइएको छ।
  • एसएसपी सोमेन्द्रसिंह राठौरलाई पर्सा खटाइएको छ।
  • एसएसपी दीपशम्शेर जबरालाई रौतहट पठाइएको छ।
  • एसएसपी कृष्णप्रसाद पंगेनीलाई महोत्तरी खटाइएको छ।
  • एसएसपी होबिन्द्र बोगटीलाई बाराको सुरक्षा समन्वयको जिम्मेवारी दिइएको छ।
  • एसएसपी भुवनेश्वर तिवारीलाई धनुषा पठाइएको छ।
  • एसएसपी अमरेन्द्रबहादुर सिंहलाई मधेस प्रदेशस्तरको समन्वयको जिम्मेवारी दिइएको छ।

 

यसअघि बारा र पर्साको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत एसएसपी होबिन्द्र बोगटीलाई खटाइएको थियो।

सुरक्षा निकायले मधेसका जिल्लामा सम्भावित तनाव, प्रदर्शन र अप्रिय घटनालाई नियन्त्रण गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ। यसैबीच, सुनसरीसहित सिरहा, सप्तरी र धनुषामा कर्फ्यु जारी छ भने पर्सामा निषेधाज्ञा लगाइएको छ। बिहीबारको तुलनामा प्रदर्शनका गतिविधि केही घटेको भए पनि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको छ। सिरहामा भने केही समय झडपसमेत भएको थियो।

सुनसरी घटनामा मृत्यु भएका दुई जनाका परिवारले गृहमन्त्रीसँग भएको सहमतिपछि शव बुझेका छन्। तराई–मधेसका विभिन्न जिल्लामा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्‍यालीसमेत निकालिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७