मधेशी नेताहरुलाई प्रधानमन्त्री बालेनले भने: म संघीयताविरोधी होइन, त्यो सपनामा पनि नसोच्नुहोस्


२०८३ श्रावण १५ शुक्रबार १४:०६ बजे

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूलाई आग्रह गरेका छन् ।सुनसरी घटनालगायतका विषयमा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले संघीयता र प्रदेश संरचनाप्रतिको आफ्नो धारणा स्पष्ट पारेका हुन् ।

छलफलमा मधेशकेन्द्रित दलका नेताहरूले प्रदेशलाई पर्याप्त अधिकार नदिँदा तथा सुरक्षा संयन्त्रसहितका महत्वपूर्ण जिम्मेवारी प्रदेश तहमा नहुँदा स्थानीय समस्या समाधानमा कठिनाइ भइरहेको बताएका थिए । उनीहरूले प्रदेश सरकारलाई थप अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए ।

जवाफमा प्रधानमन्त्री शाहले आफू संघीयताविरोधी नभएको स्पष्ट पार्दै संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउने पक्षमा रहेको बताएका थिए ।

बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले संघीयताप्रति प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोस् । प्रदेशलाई बलियो बनाउने हो । संरचनामा सुधार गर्ने विषय मात्र उठाएको हुँ । हाम्रो पार्टी संघीयताविरोधी होइन, बलियो संघीयता निर्माण गर्ने पक्षमा छ।’,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’ 

प्रधानमन्त्री शाहले आफ्नो कारणले संघीयतामाथि कुनै खतरा उत्पन्न हुने आशंका नगर्न पनि आग्रह गरेका थिए । उनले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर रहेको बताएका थिए ।

मधेशमा फैलिएको तनाव रोक्न राज्य गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्नेमा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । ‘जुन आगो मधेशमा फैलिएको छ, त्यसलाई रोक्नुपर्यो । राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिँदैन,’ महतोले भने, ‘हामी सबै सहयोग गर्न तयार छौँ । सबै पक्षको सहयोग लिएर त्यो दंगा रोक्नुपर्यो भनेका छौँ । त्यसका लागि पहल गर्नुपर्‍यो।’

जनमत पार्टीका अध्यक्ष सीके राउतले कप्तानगन्जमा मृत्यु भएका युवाका परिवारसँग तीन घण्टाभित्र वार्ता गरेर माग पूरा गर्न आफूले सुझाव दिएको बताए । सुरक्षा निकाय आक्रामक बन्दा घटना थप चर्किएको उनले टिप्पणी गरे । उनले सुरक्षाकर्मीलाई यस्ता घटनामा कसरी संयमित हुने भन्ने विषयमा तालिम दिन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । 

उनले भने, 'यस्तो घटना प्रहरी र बल प्रयोगबाट मात्रै समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना र प्रहरीले पनि बुझ्नुपर्छ । यो संवादमार्फत हुनुपर्छ, त्यसका लागि हामीले सुझाव पनि दियौँ । अन्तरधार्मिक काउन्सिल हरेक जिल्लामा बनाउने, त्यसमा सबै धर्मगुरुहरू, धार्मिक अभियन्ताहरू हुन्छन्, सबैलाई राखेर नियमित बैठक गर्ने गरी काउन्सिल गठन गर्न हामीले प्रधानमन्त्रीलाई सुझाव दिएका छौँ ।' 

छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउन, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७