धार्मिक सद्भावका लागि रवि लामिछानेको पहल, हिन्दू–मुस्लिम अगुवाले दिए एकताको सन्देश
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् । पछिल्लो समय देखिएको धार्मिक तनाव र हिंसाका घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सभापति लामिछानेले विभिन्न धर्म समुदायका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए । छलफलपछि धार्मिक अगुवाहरूले रवि लामिछानेकै अगाडि एकअर्कासँग हात मिलाउँदै धार्मिक एकता र सामाजिक सद्भावको सन्देश दिएका थिए ।
सभापति लामिछानेले छलफलका क्रममा दुवै धार्मिक संस्थाबाट संयुक्त वक्तव्य जारी गर्न आग्रह गरे । उनले श्रेय लिनेभन्दा पनि सामाजिक जिम्मेवारी पूरा गर्ने उद्देश्यले आफूहरू अघि बढेको बताए ।
उनले भने, ‘यहीँ बसेर बनाऔँ, यहीँबाट सन्देश दिऊँ। हामी यहीँ ड्राफ्ट गरौँ। यहाँहरू सहमत हुनुहुन्छ भने श्रेय जसले पाए पनि फरक पर्दैन। यो श्रेय प्राप्त गर्ने दौडमा हामी छैनौँ। म त बिल्कुलै छैन। हामी जिम्मेवारी पूरा गर्न आएका हौँ।’
लामिछानेले नागरिकको धन–जनको सुरक्षाका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए । उनले थपे, ‘अलिकति पनि ढिला गर्यौँ भने त्यसले अर्को विध्वंस निम्त्याउन सक्छ। हाम्रा भाइ–भतिजाहरू लडिरहेका छन्, घेरिएका छन्, तड्पिएर हिँडिरहेका छन्। जसले जुन उद्देश्यले यो आगो झोसेको भए पनि यो आगोले डढाउने हाम्रै घर हो। तर त्यो सल्किँदै आउने त यहीँ हो।’
.gif)

.png)

