नेपाल सेमिफाइनलमा यु-१९ महिला एसिया कपमा छनोट
काठमाडौं। नेपाल एसीसी महिला यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गर्दै आगामी यु–१९ महिला एसिया कप का लागि छनोट भएको छ।
मलेसियामा बुधबार भएको क्वार्टरफाइनलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। यससँगै नेपालले एसिया कपको टिकट पनि सुरक्षित गरेको छ।
जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११।२ ओभरमा १ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो। ओपनर साना प्रवीणले १८ रन बनाएर आउट भए पनि सावित्री धामी र कप्तान सोनी पाख्रिनले अविजित ४८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए।
सावित्रीले ३२ बलमा ७ चौकासहित अविजित ४१ रन बनाइन् भने सोनी १८ रनमा अविजित रहिन्। सावित्रीको यो प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन जारी रहेको छ।
यसअघि टस जितेर ब्याटिङ रोजेको जापान २० ओभरमा ८६ रनमा अलआउट भयो। कप्तान बियान्का सिनोले अविजित ३८ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। जापानका ७ खेलाडी शून्यमै आउट भए। नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले समान २–२ विकेट लिए।
समूह चरणका तीनै खेल जित्दै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा इन्डोनेसिया र थाइल्याण्ड आमनेसामने हुनेछन्। यी चारै टोली आगामी यु–१९ महिला एसिया कप मा सहभागी हुनेछन्।
.gif)

.png)

