सरकार आलोचनाबाट डरायो, ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन: भीष्मराज आङ्देम्बे

‘गेट छेक्दैमा जनआवाज रोकिँदैन’


२०८३ असार ३० मंगलबार १०:२६ बजे

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको भन्दै कडा आलोचना गरेका छन्। लोकतन्त्रमा आलोचना सहन सक्ने क्षमता नै सरकारको असली शक्ति हुने भए पनि अहिलेको सरकार प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन उद्यत रहेको उनको आरोप छ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्देम्बेले हालै विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको शैलीप्रति लक्षित गर्दै भनेका छन्, 'गेट अगाडि गाडी राख्ने कार्य बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो। यो स्वतन्त्र प्रेस र विपक्षी दललाई मनोवैज्ञानिक दबाबमा राख्ने र तर्साउने रणनीति हो।'

आङ्देम्बेले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारको शत्रु नभई राज्यका कामकारबाही देखाउने 'ऐना' भएको उल्लेख गरेका छन्। उनले भने, “ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन।”

सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी समस्या र पछिल्लो समय आत्मदाहका घटनाहरूले सरकारको विफलता प्रस्ट पारेको उनको भनाइ छ। विवेक मण्डल र गणेश नेपाली जस्ता नागरिकका दुःखद घटनाबारे प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी नेताको घर अगाडि गाडी छेक्दैमा जनताको आवाज नरोकिने चेतावनी उनले दिए। 'गाडीले गेट त छेक्न सकिएला तर जन–आवाजहरू छेक्न सकिन्न। इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन,' आङ्देम्बेले भनेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७