‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धानका लागि ५ दिनको म्याद थप
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा ४२ वर्षीया ईश्वरी भुजेलको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नेपाली सेनामा कार्यरत भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ४२ वर्षीय कुमार थापा (जो ‘नेपाली ब्रो’ उपनामले चिनिन्छन्) लगायत अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। आफूलाई प्रो–रेस्लरका रूपमा चिनाउने थापाले घरायसी विवादका क्रममा श्रीमतीमाथि फलामको रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शुक्रबार राति १०:१० बजे भएको सो घटनामा रडको प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो। यस घटनामा जाहेरी परेपछि प्रहरीले कुमार थापाका साथै अन्य तीन जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पक्राउ परेका चारै जनालाई अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पारिवारिक विवादले उग्र रूप लिँदा एक जना सैनिक जवानले ज्यान गुमाउनुपरेको यस हृदयविदारक घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। प्रहरीले घटनाको विविध कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
.gif)

.png)

