टिकटकमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाद्वारा पत्नीको हत्या
तारकेश्वरमा बाटो ढुकेर पत्नीमाथि रड प्रहार
काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिकामा एक व्यक्तिले आफ्नी पत्नीको निर्मम हत्या गरेका छन्। टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापाले पत्नी ईश्वरी भुजेलको रड प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति १०:१० बजे उक्त घटना भएको हो। स्कुटीमा घर फर्किँदै गरेकी ४२ वर्षीया ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरेका थिए।
आफूलाई रेस्लर र फाइटरका रूपमा समेत चिनाउने अभियुक्त कुमार र मृतक ईश्वरीबीच केही समययता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली सेनामा कार्यरत ईश्वरी शुक्रबार राति कामबाट घर फर्किने समयको पूर्वानुमान गरी कुमार बाटो ढुकेर बसेका थिए। ईश्वरी घरनजिकै पुग्नासाथ उनीमाथि घातक प्रहार भएको एसपी भट्टराईले जानकारी दिए।
घटनालगत्तै स्थानीय प्रत्यक्षदर्शी र आफन्तले घाइते ईश्वरीलाई तत्काल स्थानीय तारकेश्वर अस्पताल पुर्याएका थिए। तर, अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) रिफर गरिएको थियो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।
आक्रमणपश्चात फरार भएका कुमारलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त बालाजुको टोलीले शुक्रबार राति नै बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको छ। अभियुक्तलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

