एसएसपी कोइरालाको सरुवा रोकियो, ट्राफिकमा सुरेश काफ्ले आउने
काठमाडौँ : मापदण्ड विपरीत 'इन्चार्ज टु इन्चार्ज' मा सरुवा गरिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको सरुवा रोकिएको छ। गत १८ जेठमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको इन्चार्जका रूपमा सरुवा भएका कोइरालाको सरुवा निर्णयलाई प्रहरी प्रधान कार्यालयले संशोधन (करेक्सन) गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबराका अनुसार कोइरालाको सरुवा रोकेर अब उनको ठाउँमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको नयाँ कमान्डरका रूपमा एसएसपी सुरेश काफ्लेलाई सरुवा गरिएको छ।
एसएसपी कोइरालाले यसअघि 'ख' श्रेणीमा पर्ने नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको इन्चार्जका रूपमा कमान्ड सम्हाल्दै आएका थिए। उक्त कमान्डबाट उनलाई सोझै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो।
प्रहरी संगठनभित्र सरुवा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यबोझ, मुद्दाको चाप र प्रकृतिका आधारमा क्षेत्रहरूलाई 'क', 'ख' र 'ग' श्रेणीमा वर्गीकरण गरी सरुवा मापदण्ड लागू गरिएको छ।
उक्त मापदण्ड अनुसार एक ठाउँमा इन्चार्जको कमान्ड सम्हालिरहेका अधिकारीलाई सोझै अर्को ठाउँको इन्चार्ज (इन्चार्ज टु इन्चार्ज) बनाएर पठाउन मिल्दैन। कोइरालाको हकमा मापदण्ड मिचेर सरुवा गरिएको विषय बाहिरिएपछि प्रहरी नेतृत्वले उक्त त्रुटि सच्याउँदै कोइरालाको सरुवा रोकेर काफ्लेलाई ट्राफिकको जिम्मेवारी सुम्पेको हो।
.gif)

.png)

