कतै वर्षा र हिमपात, कतै तातो लहरको सास्ती

तराईमा तातो लहर चल्दा कोशी र मधेसमा हावाहुरीको सम्भावना


२०८३ जेठ १० आइतबार ०७:५८ बजे

काठमाडौँः नेपालको वायुमण्डलमा अहिले एकैसाथ तीनवटा मौसमी प्रणाली सक्रिय रहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यही वातावरणीय बदलावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षा समेत भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको मौसम साधारणतया बदली रहनेछ। यस्तै, मधेस प्रदेश लगायत अन्य बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक रूपमा बादल लाग्ने संकेत देखिएको छ भने तराईका बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना औंल्याएको छ। विभागले जारी गरेको बुलेटिनमा भनिएको छ, 'कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली इलाकाका केही ठाउँहरूमा र मधेस प्रदेश सहित बागमती, गण्डकीका सुगम तराई क्षेत्रमा पानी पर्ने सम्भावना छ। यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्छ।'

एकतिर वर्षाको सम्भावना रहँदा अर्कोतिर देशको पश्चिमी भू-भागमा भने गर्मीको प्रकोप बढ्ने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा दिनभर अत्यधिक गर्मी हुने र तराईका भू-भागमा तातो हावा (लु) चल्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

यसका साथै, तराईका कतिपय क्षेत्रमा हावाहुरीको जोखिम समेत रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्न सक्ने पूर्वानुमान मौसम विभागले गरेको छ। मौसममा आउने यस्तो उतारचढावका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७