विद्या भण्डारीको सदस्यता नवीकरणमा उषाकिरणको टिप्पणी : यो कसैको आशीर्वाद होइन
‘पहिले सदस्यता नदिने निर्णयमा एकजना पात्रको मात्र बल थिएन र अहिले सदस्यता दिने निर्णयमा पनि कोही एक व्यक्तिको सदासयता वा आशीर्वाद छैन– परिस्थिति परिबन्धको प्रभाव छ,’
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयबारे मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष एवं उनकी छोरी उषाकिरण भण्डारीले ‘यो कसैको आशीर्वाद होइन, परिस्थितिको उपज हो’ भनी टिप्पणी गरेकी छिन्। पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली समूहले 'ओलीकै आशीर्वादका कारण यो सम्भव भएको' भन्दै टिकाटिप्पणी गरिरहेका बेला त्यसतर्फ लक्षित गर्दै उनले यस्तो बताएकी हुन्।
विगत र वर्तमानको सन्दर्भ जोड्दै उषाकिरणले लेखेकी छन्, 'पहिले सदस्यता नदिने निर्णयमा एकजना पात्रको मात्र बल थिएन र अहिले सदस्यता दिने निर्णयमा पनि कोही एक व्यक्तिको सदाशयता वा आशीर्वाद छैन- परिस्थिति र परिबन्धको प्रभाव छ।'
‘नियम, तर्कको अनुकम्पामा निर्भर हुन्छ– संविधानको बहसदेखि विभिन्न विधानका नियमावलीको बहसमा देख्दै आएका छौं। पहिले सदस्यता नदिने निर्णयमा एकजना पात्रको मात्र बल थिएन र अहिले सदस्यता दिने निर्णयमा पनि कोही एक व्यक्तिको सदासयता वा आशीर्वाद छैन– परिस्थिति परिबन्धको प्रभाव छ,’ उनले भनेकी छन्।
पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फिर्ती र भावी नेतृत्वको विषयलाई लिएर भइरहेका टीकाटिप्पणी र विरोधलाई पनि उनले जवाफ दिएकी छन्। सदस्यता नवीकरण हुनासाथ सिधै पार्टी अध्यक्ष नै भइहाल्ने ढंगले बाहिर आएका विश्लेषण र विरोधहरूले स्वयम् विद्यादेवी भण्डारीको बलियो 'व्यक्तित्वको प्रभाव' लाई पुष्टि गर्ने उनको तर्क छ।
संवैधानिक पदमा बसेको व्यक्ति र तटस्थताको बहसलाई लिएर उषाकिरणले दार्शनिक ढङ्गले असहमति जनाएकी छन्। राष्ट्रपति 'सेरेमोनियल' (अलंकारिक) पद भएकोले उसले विचारशून्य भएर तटस्थ बस्नुपर्छ भन्ने सर्त राख्नु वा कुनै राजनीतिक दलमा नआबद्ध मान्छे चाहिं विचारबाट निर्देशित हुँदैन र 'बायस्ड' हुन्न भन्नु पूर्णतः हास्यास्पद भएको उनको टिप्पणी छ।
दार्शनिक रेने डेकार्ट र एरिस्टोटलका प्रसिद्ध भनाइहरू उद्धृत गर्दै उनले अगाडि लेखेकी छन्, ' म सोच्छु, त्यसैले म छु र ' मानिस एक राजनीतिक प्राणी हो' भन्ने यी दुई भनाइहरू यत्तिकै सार्वभौमिक र कालजयी भएका होइनन्।'
.gif)

.png)


