क्यानको महानिर्देशकका लागि २१ जनाले दिए आवेदन
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदका लागि २१ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सरकारको प्रक्रियाअनुसार वैशाख २१ गतेसम्मको अन्तिम समयसीमाभित्र २१ जना इच्छुक उम्मेदवारहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दर्ता गराएका हुन्।
मन्त्रालयले गत २०८२ चैत १२ गते विज्ञापन आह्वान गर्दै योग्य उम्मेदवारहरूलाई दरखास्त दिन सूचित गरेको थियो। तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा तानिएर छानबिनका लागि पक्राउ परेपछि सो पद रिक्त हुन पुगेको थियो, जसलाई अहिले सरकारले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागेको हो।
महानिर्देशक पदका लागि आवेदन दिनेहरूमा प्रभाकर चन्द मल्लिक, उत्सवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल र जसोदा सुवेदी रेग्मी रहेका छन्। त्यसैगरी, लवराज जोशी, जगन्नाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत र लक्ष्मीप्रसाद उपाध्यायले पनि नेतृत्वका लागि आफ्नो दावेदारी पेश गरेका छन्। आवेदन दिने अन्य प्रतिस्पर्धीहरूमा उमेशकुमार पन्थी, दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजयकुमार रहेका छन्।
यसअघिका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थल र भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा गिरफ्तार भएपछि क्यानको महानिर्देशक पद खाली भएको छ। अधिकारी गत मंसिरमा पक्राउ परेका हुन्। प्राप्त आवेदनहरूमध्येबाट योग्यता, अनुभव र कार्ययोजनाका आधारमा उत्कृष्ट उम्मेदवार छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरिने मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयले चार जना सञ्चालको लागि आवेदन मागेको थियो। तर, सरकारले जारी गरेको अध्यादेशबाट निगममा रहेका अर्का एक जना सञ्चालको पनि पद गएपछि मन्त्रालयले सूचना प्रकाशन गरेर पाँच जना सञ्चालकको नियुक्ति हुने बताएको छ।

.gif)

.png)


