‘बेल ४१२’ को सट्टा ‘हेभी-लिफ्ट’ हेलिकोप्टर दिन अमेरिकालाई नेपालको प्रस्ताव


२०८३ बैशाख १४ सोमबार १४:१४ बजे
‘हेभी–लिफ्ट’ हेलिकोप्टर

काठमाडौं, १४ वैशाख : नेपाल सरकारले अमेरिकाले उपलब्ध गराउन प्रस्ताव गरेको ६ वटा हेलिकोप्टरको सट्टा भारी सामान बोक्न सक्ने ‘हेभी–लिफ्ट’ विमान वा हेलिकोप्टर उपलब्ध गराउन प्रस्ताव पठाउने निर्णय गरेको छ ।

अमेरिकाले नेपाली सेनालाई ‘फरेन मिलिटरी फाइनान्सिङ’ कार्यक्रमअन्तर्गत ६ वटा हेलिकोप्टर दिने प्रस्ताव गरेको थियो । यसको साटो  ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने निर्णय भएको एक उच्च अधिकारीले बताए ।

अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी समाचारमाध्यम एरोटाइमले अमेरिकी १० करोड डलर बराबरको सैन्य सहयोग कार्यक्रमअन्तर्गत प्रस्ताव गरिएका ‘बेल ४१२’ को सट्टा ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने निर्णय गरिएको हो । ६ वटा बेल ४१२ हेलिकोप्टरको सट्टा नेपालले आफ्नो भौगोलिक तथा पूर्वाधार आवश्यकताअनुसार वैकल्पिक हवाई साधन माग्ने निर्णय गरेको  हो । 

समाचारअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनाबीच छलफलपछि अमेरिकासमक्ष प्रतिप्रस्ताव पठाउने तयारी गरिएको छ। उक्त प्रतिप्रस्तावमा दुर्गम क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्न सक्ने भारी क्षमताका हवाई साधन आवश्यक रहेको उल्लेख गरिने बताइएको छ। 

यस प्रकारको प्रस्ताव पठाइएको परराष्ट्र मन्त्रालयका अधिकारी र सेनाका उच्च अधिकारीले पनि पुष्टी गरे । ती अधिकारीहरुले नयाँ पेजसँग भने, ‘‘बेल ४१२’ को सट्टा ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने निर्णय भएको हो ।’ 

नेपालका पहाडी तथा हिमाली भूभागमा सडक पहुँच सीमित भएकाले स्टिल, सिमेन्ट, काठ, मेसिनरीलगायत निर्माण सामग्री पुर्‍याउन बाहिरी हुक वा स्लिङ प्रयोग गरेर सामान लैजान सक्ने ‘एरियल क्रेन’ प्रकारका हेलिकोप्टर बढी उपयोगी हुने सरकारी अधिकारीहरूको भनाइ समाचारमा उल्लेख छ।

सन् २०२४ मा नेपाल भ्रमणका क्रममा अमेरिकी अधिकारी रिचर्ड भर्माले नेपालको हवाई क्षमता सुदृढीकरणका लागि १० करोड डलर सहयोग घोषणा गरेका थिए। त्यसपछि अमेरिकी दूतावासले सन् २०२६ जनवरीमा नेपाललाई छ वटा हेलिकोप्टर उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ।

नेपालमा भूकम्प, पहिरो, बाढी जस्ता प्राकृतिक विपद् बारम्बार हुने भएकाले उद्धार, राहत तथा दुर्गम क्षेत्रमा आपूर्ति व्यवस्थापनका लागि उच्च क्षमताका हवाई साधन आवश्यक पर्ने विज्ञहरूको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७