‘हनी ट्र्याप’ गर्ने किशोरीसहित दुई जना पक्राउ


२०८२ चैत २ सोमबार १०:२६ बजे

काठमाडौँ : चितवनमा ‘हनी ट्र्याप’ मार्फत एक पुरुषसँग रकम असुल्ने प्रयास गरेको आरोपमा प्रहरीले एक किशोरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४९ वर्षीय पुरुषलाई जालमा पारेर रकम मागेको आरोपमा १८ वर्षीया एनी तामाङ र २५ वर्षीय विजय सुनारलाई आइतबार नियन्त्रणमा लिइएको हो । 

प्रहरीका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार किशोरीले मोबाइल नम्बर पत्ता लगाएर ती पुरुषसँग सम्पर्क गरेकी थिइन्। करिब एक सातासम्म कुराकानी भएपछि फागुन २९ गते कालिका नगरपालिका–जुटपानी नजिक भेट्ने सहमति भएको थियो । 

भेट्न गएका पुरुषमाथि उनीहरूले दाउराले आक्रमण गरेको र स्कुटर नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ नदिए बलात्कारको आरोप लगाएर प्रहरीमा मुद्दा हालिदिने धम्की दिएको आरोप छ । 

प्रहरीका अनुसार डर देखाइएपछि ती पुरुषले पहिलो पटक ५ हजार र दोस्रो पटक २ हजार रुपैयाँ दिएका थिए। स्कुटर भने उनीहरूको नियन्त्रणमै थियो। पछि थप रकम माग्दै बार्गेनिङ सुरु भएपछि ती पुरुषले फोन कुराकानीको रेकर्डसहित प्रहरीमा उजुरी दिएका थिए । 

तेस्रो पटक १० हजार रुपैयाँ मागेपछि प्रहरीले योजना बनाएर दुवैलाई पक्राउ गरेको जनाएको छ। डीएसपी खनालका अनुसार प्रहरीले ‘तपाईंलाई आइफोन उपहार परेको छ’ भन्दै सम्पर्क गरेपछि उनीहरू स्कुटरसहित आउँदा नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूले यसअघि पनि यस्तै तरिकाले अन्य व्यक्तिलाई ठगी गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७