बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले लिए शपथ
काठमाडौँ : बंगलादेशमा बिएनपीका अध्यक्ष तारिक रहमानले मंगलबार संसद भवनको परिसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले उनलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणपछि प्रधानमन्त्री रहमानले मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै समर्थकहरूलाई बदलाभाव नराख्न चेतावनी दिएका छन् ।
फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको थियो । यसपालि प्रमुख प्रतिस्पर्धी दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो। शपथ ग्रहण समारोहमा विभिन्न मुलुकका प्रतिनिधिहरू सहभागी भए; नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मासमेत उपस्थित थिए ।
प्रधानमन्त्री रहमानसँगै अन्य २५ मन्त्री र २४ राज्यमन्त्रीहरूले पनि शपथ लिएका छन् ।
तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । उनी १९६८ मा जन्मेका हुन् र प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहिन कलेजबाट लिएका थिए। ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन थाले पनि पूरा गर्न सकेनन् ।
सन् १९८८ मा बिएनपीको राजनीतिमा प्रवेश गरेका रहमान पार्टीभित्र प्रभावशाली बने । २००७ मा भ्रष्टाचार आरोपमा पक्राउ परेका उनी करिब १८ महिना जेल बसे। रिहाइपछि १७ वर्ष लन्डनमा बस्दै राजनीतिक शरण लिएका थिए। गत वर्ष डिसेम्बरमा आमाको निधनपछि बिएनपीको नेतृत्व उनी सम्हाले ।
.gif)

.png)

