प्रदीप ज्ञवाली भन्छन् : ईश्वर पोखरेल पक्षको भेला अनपेक्षित

पूर्वराष्ट्रपतिले 'राजतन्त्र पुनर्स्थापना हुन सक्छ' भनेर दिएको अभिव्यक्ति उदेकलाग्दो


२०८२ पौष ७ सोमबार ०७:४७ बजे

काठमाडौं : नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले महाधिवेशनमा पराजित नेता ईश्वर पोखरेल पक्षको भेलालाई ‘अनपेक्षित’ भनेका छन् । 

उनले महाधिवेशनले पार्टीको नीति र नेतृत्वलाई अनुमोदन गरिसकेको अवस्थामा ‘दुई लाइनको संघर्ष’ कायम राख्नु गलत हुने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले महाधिवेशनको फैसला नमानिने र मुद्दा कायमै राख्ने हो भने ‘पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित’ हुने चेतावनी पनि दिएका छन् ।

साथै, ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्तिप्रति पनि ज्ञवालीले आश्चर्य व्यक्त गरेका छन्। 

ज्ञवालीले लेखेका छन्, 
हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो ।

महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।

एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो, केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ । 

अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन ।

तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?

पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७