होल्डिङ सेन्टरका परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास

आवश्यकता पहिचान गर्न 'कोबो टुलबक्स'बाट सरकारको सर्वेक्षण


२०८३ भदौ २४ बुधबार १४:२३ बजे
फाइल तस्बिर

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।

आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारका लागि छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सरकारले सर्वेक्षण सुरु गरेको हो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ।

सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था, पूर्ण वा आंशिक क्षति, परिवारका दिवंगत तथा बेपत्ता सदस्यको संख्या लगायतका विवरण संकलन गरिनेछ। त्यस्तै, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे समेत जानकारी लिइनेछ।

हाललाई होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको आवश्यकता पहिचान गरी त्यसका आधारमा सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सर्वेक्षणले सहयोग गर्नेछ। एक साताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ। होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सकिएलगत्तै त्यसभन्दा बाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारममार्फत आवश्यकता मूल्याङ्कन गरिनेछ।

सरकारले संकलित विवरणका आधारमा प्रभावित परिवारलाई उनीहरूको आवश्यकता र इच्छाअनुसार अस्थायी बसोबासको विकल्प उपलब्ध गराउने तयारी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७