प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीको जबाफ : हाम्रो गाडी एक्सप्रेस हो, गन्तव्य नपुगी ब्रेक लाग्दैन


२०८३ असार ७ आइतबार १८:५० बजे

चितवन :  प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकार ‘एक्सप्रेस-वे’ मा तीव्र गतिमा कुदिरहेको गाडी भएको र गन्तव्यमा नपुगुन्जेल नरोकिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले एमाले नेता प्रदीप ज्ञवालीले सरकारको कार्यशैलीप्रति व्यक्त गरेको चिन्ताको जवाफ दिँदै यस्तो बताएका हुन्।

यसअघि सम्बोधन गर्दै नेता ज्ञवालीले सरकारले केवल ‘एक्सेलेरेटर’ मात्र थिच्दा दुर्घटना हुनसक्ने भन्दै ‘ब्रेक’ लगाउन पनि आवश्यक रहेको बताएका थिए। उक्त धारणालाई खण्डन गर्दै प्रधानमन्त्री शाहले भने, 'त्यस्तो चिन्ता लोकल रोडमा हिँडेको गाडीका लागि हुनुपर्छ, जहाँ घुम्ती वा दायाँ-बायाँबाट आउने सवारीसाधनको जोखिम हुन्छ। हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस-वे मा छ। त्यसैले, गन्तव्यमा नपुग्दासम्म ब्रेक लगाउनु आवश्यक छैन। हाम्रो गाडी अनियन्त्रित पनि छैन, सबै कुरा नियन्त्रणमा छ।'

त्यसैगरी, जनताको मत ‘हावा’ जस्तै कहिले पूर्व त कहिले पश्चिमबाट बहने (परिवर्तन भइरहने) विषयमा भइरहेको चर्चाप्रति पनि प्रधानमन्त्री शाहले कडा जवाफ दिए। उनले रास्वपाले केवल हावाको बहाव नबदलेको बरु बाढी ल्याएर खोलाकै धार परिवर्तन गरेको दाबी गरे।

उनले भने, 'जनताको भोट हावा जस्तै हुन्छ र दिशा परिवर्तन गरिरहन्छ भनी चिन्ता लिनुपर्दैन। हामीले हावा होइन, बाढी ल्याएर खोलाको धार नै फर्काएका हौँ। खोला एकपटक सही बाटोमा फर्किएपछि निरन्तर त्यही मार्गमा बग्छ, अब यो हावा जस्तै पूर्व-पश्चिम बग्दैन।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७