जलवायु जोखिमको अग्रपंक्तिमा नेपाल : प्रचण्ड
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतलाई प्रकृतिको अमूल्य धरोहर भन्दै यसको संरक्षण अनिवार्य भएको बताएका छन् । २३औँ विश्व पर्वत दिवसका सन्दर्भमा उनले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जन पर्वतले धानेकाले यसको रक्षा अत्यावश्यक रहेको बताए।
उनले भने, 'जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ। यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ।'
उनका अनुसार ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय भएको नेपाल जलवायु जोखिमको अग्रपंक्तिमा छ । अल्पविकसित राष्ट्रले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायसँग गाँसिएको उनको भनाइ छ ।
उनले थपे, 'जलवायु न्यायका लागि नेपालजस्ता राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने दिशामा महत्त्वपूर्ण कदम अघि बढेका छन्। तर, काम अझै पूरा भएको छैन।'
प्रचण्डले पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गर्न नेपाल निरन्तर अपिल गरिरहेको उल्लेख गरे । उनले अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राखिनुपर्नेमा पनि जोड दिए ।
.gif)

.png)

