सत्ताको जोडघटाउमा अल्झिँदा कम्युनिस्ट आन्दोलन संकटमाः पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरू सत्ता, समीकरण र निर्वाचनको जोडघटाउमा बढी केन्द्रित हुँदा आन्दोलनको मूल विचार र दीर्घकालीन रणनीति कमजोर बनेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनले आफ्नो वर्गीय दृष्टिकोण र वैचारिक आधारलाई गम्भीर रूपमा आत्मसात गर्न नसक्दा अहिले मुलुक र आन्दोलन दुवैले असाधारण संकट सामना गर्नुपरेको बताए।
उनले कम्युनिस्ट नेतृत्व प्रधानमन्त्री बन्ने, सरकार बनाउने, सत्ता समीकरण फेरबदल गर्ने, मन्त्री बन्ने र निर्वाचन जित्ने राजनीतिक प्रतिस्पर्धामा बढी केन्द्रित भएको आत्मसमीक्षा गरे। यस क्रममा आन्दोलनको दीर्घकालीन रणनीति र वैचारिक पक्ष ओझेलमा परेको उनको भनाइ थियो। ‘हामी प्रधानमन्त्री बन्ने, समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने र चुनाव जित्नेतिर मात्रै केन्द्रित भयौँ,’ प्रचण्डले भने।
आफूहरू आन्तरिक सत्ता संघर्ष र राजनीतिक जोडघटाउमा व्यस्त भइरहेका बेला विरोधी शक्तिहरू भने नेपालमा विस्तार भइरहेको कम्युनिस्ट प्रभावलाई कमजोर बनाउने दीर्घकालीन रणनीतिमा केन्द्रित रहेको उनले दाबी गरे। ‘हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन्, यसलाई रणनीतिक रूपमा सिध्याउनुपर्छ भन्नेमा केन्द्रित भएर लागिरहेका थिए,’ उनले भने।
प्रचण्डले नेपालको राजनीतिक घटनाक्रमलाई वैदेशिक प्रभाव र हस्तक्षेपको सन्दर्भमा समेत विश्लेषण गर्नुपर्ने बताए। कम्युनिस्ट आन्दोलनले बाह्य शक्तिको प्रभावलाई गम्भीरतापूर्वक बुझेर त्यसविरुद्धको संघर्षलाई निरन्तरता दिन नसकेको उनको भनाइ थियो। उनले पछिल्लो राजनीतिक संकटलाई दलहरूबीचको तत्कालीन सत्ता संघर्षका रूपमा मात्र बुझ्न नहुने बताए। उनका अनुसार यसलाई कम्युनिस्ट आन्दोलनभित्र देखिएको वैचारिक विचलन, आन्तरिक कमजोरी, सत्ताकेन्द्रित राजनीति र बाह्य हस्तक्षेपसँग जोडेर हेर्न आवश्यक छ।
प्रचण्डले आफूहरूले प्राप्त गरेका राजनीतिक उपलब्धिको रक्षा र त्यसलाई संस्थागत गर्ने दीर्घकालीन रणनीति बनाउन नसकेको समेत स्वीकार गरे। ‘अहिले हामीले जे असाधारण संकट भोग्नुपरेको छ, त्यो भोग्न पर्दैनथ्यो,’ उनले भने। उनले गत वर्ष भदौ २४ गते देखिएको राजनीतिक घटनाक्रमलाई पनि आफूले उल्लेख गरेको रणनीतिक परिस्थितिको परिणामका रूपमा व्याख्या गरे।
आफूहरू तत्कालीन राजनीतिक उपलब्धि, सरकार गठन र निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला विरोधी शक्तिहरू भने कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ अघि बढेको उनको दाबी थियो। ‘त्यही रणनीतिक केन्द्रीकरणको भयानक अभिव्यक्ति भदौ २४ गते देखियो,’ प्रचण्डले भने।
उनको पछिल्लो अभिव्यक्तिले कम्युनिस्ट आन्दोलनको वर्तमान संकटबारे आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको बहसलाई अघि सारेको छ। सत्ता प्राप्तिलाई मात्रै राजनीतिक लक्ष्य बनाउँदा आन्दोलनको मूल चरित्र कमजोर हुने भन्दै उनले कम्युनिस्ट शक्तिहरूलाई विचार, वर्गीय दृष्टिकोण र दीर्घकालीन रणनीतिमा फर्किनुपर्ने संकेत गरेका छन्।
.gif)

.png)

